आवासीय भवन अवलोकन गर्दै गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, वडाध्यक्ष ठाकुरराम तितुङ लगायत ।

मनहरी–कोरोनाको संक्रमण फैलन नदिनका लागि मनहरी गाउँपालिकाले स्वास्थ्यकर्मीको टिमलाई बलियो बनाउँदै लगेको छ ।

गाउँपालिकाले मनहरी प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको ज्वरो क्लिनिक, आकस्मिक सेवा सञ्चालन लगायतका कामलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा खटाएको हो । यसका लागि गाउँपालिकाले मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीको दुईवटा भवनमा स्वास्थ्यकर्मीलाई आवासीय सुविधा मिलाएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । आवासीय सुविधाका लागि एकेडेमीले ८ कोठाका दुईवटा भवन उपलब्ध गराएको हो । कोरोनाको संक्रमणविरुद्ध शसक्त सेवा प्रबाह गर्नका लागि स्वास्थ्यकर्मीहरुको आवासीय बसाइ र खानपानसहितको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्थायी आवासमा १५ जना कर्मचारीहरुले आवासीय सुविधा लिने गाउँपालिका स्वास्थ्य संयोजक टिकाराम अधिकारीले बताउनुभयो । उहाँका अनुसार २४ सै घण्टा खटिनका लागि सिफ्टका हिसावले ड्युटी लगाउन र ड्युटी नपरेका बेला आराम गर्नका लागि आवासीय व्यवस्थापनमा गाउँपालिकाले ध्यान दिएको हो । कोरोनाबिरुद्धको अभियानमा सरिक हुने स्वास्थ्यकर्मीलाई संक्रमण भइहालेमा उपचारको व्यवस्था तथा थप भत्तासहितको व्यवस्थापन गाउँपालिकाले गर्ने निर्णय गरेको बताइएको छ ।

मंगलबार भएको गाउँपालिका स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला बिष्ट, ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति सभापति नारायण सुवेदी, सञ्चारकर्मी शिवकुमार काशी, क्युपेक नेपालका अध्यक्ष गोविन्द ग्लान, राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल, डाक्टर शरद दाहाल, दीपेन्द्र पौडेल, स्वास्थ्य शाखा संयोजक टिकाराम अधिकारी, सिनियर अहेवहरु शिवराम बानिया, ज्योतिराज लुइटेल, रामचन्द्र दाहालसहितका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुका परिवारलाई संक्रमणको आशंक भइरहने हुनाले स्वास्थ्यकर्मीहरुलाई घर नपठाउने र छुट्टै आवासीय सुविधा दिनेगरी व्यवस्था गरिएको स्वास्थ्य संयोजक अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here