आँकेटारमा ओर्लिएको हेलिकोप्टर । तस्वीर सौजन्यः खुम मुक्तान ।

मनहरी–गाउँपालिका ७ आँकेटारमा शुक्रबार बिहान गोली प्रहार भएको घटनामा संलग्नताको आशंकामा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका युवकको प्रहरीले नाम खुलाएको छैन । उनलाई काठमाडौँबाटै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरी ल्याइएको बताइएको छ ।

अनुसन्धानका लागि स्थानीय युवालाई नियन्त्रणमा लिइएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका युवा गोली लागी गम्भीर घाइते भएका लालबहादुर मुक्तानको आफन्त भएको बताइएको छ । बिगतमा पनि पटक पटक झगडा भइरहने गरेको पाइएकाले अनुसन्धानका लागि युवकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।

घटनाको अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनुभयो । अनुसन्धानका क्रममा घटना भएको घरबाट भरुवा बन्दुकका गोलो बेरिङहरु फेला परेको छ ।

यसैबीच गम्भीर घाइते भएका लालबहादुरको काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ । उनको हात र फोक्सो छेउमा समेत गोली लागेको पाइएको छ । हेलिकोप्टरबाट समयै उद्धार गरिएकाले ज्यान बचाउन सकिएको चिकित्सकले जानकारी गराएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here