मनहरी–विश्वभर फैलँदै गएको कोरोना भाइरसबारे सचेतना फैलाउनका लागि ३ हजार थान पर्चा बितरण गरिएको छ ।
मनहरी ९ ज्यामिरेस्थित समृद्ध मनहरी बहुद्देश्यीय सहकारी संस्थाले मनहरी गाउँपालिकाको वडा नं वडा नं ३, ४, ६, ७, ८ र ९ नं वडाका विभिन्न बस्तीहरुमा घरदैलो अभियान गरी पर्चा बितरण गरेको हो ।

सहकारीका अध्यक्ष हेमलाल उप्रेतीको अगुवाईमा पर्चा बितरण कार्यक्रम भएको हो । पर्चा बितरण कार्यको शुभारम्भ गर्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले कोरोना भाइरसबाट बच्न अग्रिम सचेतना फैलाउनु आबश्यकता रहेको बताउनुभयो । उहाँले संक्रमण फैलन नदिनका लागि गाउँबस्तीस्तरबाटै सामाजिक संघसंस्थाहरुले अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मनहरी गाउँपालिका वडा ७ का वडाध्यक्ष ठाकुरराम तितुङ, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टिकाराम अधिकारी, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष भुवनकुमार जोशी, राष्ट्रिय रोटरी माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका कार्यबाहक अध्यक्ष नारायण सुवेदी, ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक पुलामी लगायतको सहभागिता रहेको थियो ।

कोरोना भाइरसबारे सचेतनामुलक कार्यक्रममा समुदाय प्रहरी अभियानले पनि साथ दिएको थियो ।
नयाँ स्थापना भएको सहकारीले केही समयअघिदेखि मात्रै आर्थिक कारोबार सुरु गरेको छ । सहकारीले आर्थिक गतिविधिसहित सामाजिक अभियानहरुमा पनि सहभागी भएर अघि बढ्ने योजना बनाएको अध्यक्ष हेमलाल उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here