मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको नेतृत्व चयनका सन्दर्भमा मेरा केही कुराहरु छन् । हुन त म नितान्त व्यवसाय गर्ने मान्छे हुँ, राजनीति आउँदैन ।

मेरो बुवा गोविन्द प्रसाद रिजालको नेतृत्वमा निर्माण भएको उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिको चौथो अधिवेसन फागुन १५ गते आयोजना भएको थियो । बुवाको स्वर्गारोहणपछिको पहिलो अधिवेसन भन्नुपर्छ यसलाई । जुन अधिवेसनमा अधिक किचलो र राजनीति भयो । मलाई यो कुरा फिटिक्कै मन परेको छैन । बुवालाई क्यान्सरले सताइरहँदा पनि सामाजिक रुपमा सक्रिय भएर लाग्नु भएको थियो । उहाँले आगामी नेतृत्वका बारेमा सहमति गरेरै जाने भनेर एकखाले खाका पनि सुनाउनु भएको थियो । त्यतिखेर अहिलेका सबै पदाधिकारीहरुले समर्थन जनाउनु भएको थियो । तर, अकस्मात अधिबेसन चलिरहँदा नेतृत्व छान्नका लागि भएको व्यवहारहरु मलाई ठीक लागेन । मेरो बुवा बित्नु भएको ४५ दिनमै यस्तो खालको राजनीतिक लडाइँले उद्योग बाणिज्य संघलाई कहाँ पु¥याउला ? यो राजनीति गर्ने थलो होइन जस्तो लाग्छ ।

अधिबेसनको उद्घाटनमा बुवाको फोटोमा माल्यार्पण गर्दै सबै सबैले बुवाको आत्माको शान्तिका लागि सहमतिमै संघको नेतृत्व चयन गर्नुपर्छ भन्ने भाषण पनि गर्नु भएको थियो । जिल्लादेखि आउनु भएका सबैले त्यस्तै भाषण गर्नुभयो । बुवाको फोटोमा माल्यार्पण पनि गर्नुभयो । तर, नेतृत्व छान्ने क्रममा आवश्यकभन्दा बढी नै उछालपछाल भएको पाएँ । यस्तो व्यवहारले मेरो बुवाको आत्माले शान्ति पाउँछ भन्नेमा मलाई विश्वास छैन ।

उद्योग बाणिज्य संघको भवन बनेको छ । जग्गादाताले जग्गा दिनु भएको छ । अब कार्यालय व्यवस्थित गर्नका लागि पनि फर्निचर, स्टेशनरी, कम्प्युटर, कर्मचारीहरुको व्यवस्थापन गर्नुपर्ने बेला आएको छ । व्यवसायीहरका पीरमर्का हटाउँदै जाने, समस्याहरु टार्दै जाने नेतृत्व निर्माण गरेर अघि बढ्न सकेमा मात्रै व्यवसायीको हीत हुनेछ ।

अहिले झन् व्यवसायीहरु एकताबद्ध भएर जानुपर्ने बेलामा छुट्टाछुट्टै समूहहरु बनाएर निर्बाचनमा जाने हो भने आगामी दिनमा जो नेतृत्वमा आउनु भए पनि कसरी काम गर्न सक्ने वातावरण बन्ला र ? म हात जोडेर सबैसामु भन्छु, सहमति गरेर अघि बढौँ । एकापसमा मिलेर अघि बढेमा मात्रै मेरो बुवाको आत्माले पनि शान्ति पाउला ।

(मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको नेतृत्व चयनका लागि आगामी चैत्र १ गते पुन भेला बस्नेगरी फागुन १५ गते स्थगित भएको थियो । नेतृत्व चयनका लागि निर्वाचनमा जाने गरी तयारी अघि बढिरहेको अबस्था छ । यसै सन्दर्भमा मनहरी लाइभ डटकमले पश्चिम क्षेत्र समितका संस्थापक सभापति गोविन्दप्रसाद रिजालका सुपुत्र योगेश रिजालसँग गरेको कुराकानीका क्रममा व्यक्त विचार यहाँ प्रस्तुत गरिएको हो । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here