राप्ती खोलाको बगरमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम तोकिएको स्थानमा उत्खनन् गरिँदै ।

मनहरी–मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्यांकन गरेको नदी किनारको उत्खनन् बिहिबार (फागुन ८ गते) बाट थालिएको छ ।

राप्तीखोलाको किनारमा गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले उत्खनन् कार्यको शुभारम्भ गर्नुभएको हो । फागुन ७ गते साँझ मनहरी गाउँपालिकालाई पर्सा राष्ट्रिय निकुन्जलाई पत्र लेखी कानून बमोजिम उत्खनन् गर्नका लागि पत्राचार गरेपछि उत्खनन् थालिएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताउनुभयो ।

अघिल्लो आर्थिक बर्षमा नै वातावरणीय मूल्यांकन प्रतिवेदन पारित भई बसेको थियो । तर, निकुञ्ज विभागले तत्काल प्रतिवेदन कार्यान्वयन नगर्नु भन्ने पत्र पठाएपछि अनेक जालझेल सुरु भएको थियो । निकुञ्ज विभागले गाउँपालिकालाई अनाबश्यक तनाव दिएर उत्खनन् रोकेको थियो । तर वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले हस्तक्षेप गरी मन्त्रीस्तरको निर्णयबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन कार्यान्वयन गरी उत्खनन् गर्न बाटो खोल्नु भएको हो ।

मन्त्रीस्तरको निर्णयलाई मन्त्रालयले निकुञ्ज विभाग र निकुञ्ज विभागबाट पर्सा राष्ट्रिय निकुञ्जमा पत्राचार भएपछि निकुञ्जले मनहरी गाउँपालिकालाई उत्खनन्का लागि सहजीकरण गरेको हो । उत्खनन् सुरु भएको स्थानमा निकुन्जका रेन्जर बिनयकुमार झासहित नेपाली सेनाको टोलीले अनुगमन र निरीक्षण गरिरहेको छ ।

गाउँपालिकाले दिएको जानकारी अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा राप्ती खोला किनारमा २ लाख ६० हजार ४ सय घन मिटर ग्राभेल उत्खनन् गर्न मिल्नेछ । उत्खनन् गर्न मिल्ने परिमाणको ७० प्रतिशत अर्थात १ लाख ८२ हजार घन मिनटर नदीजन्य बस्तु उत्खनन्का लागि गाउँपालिकाले ठेकेदार कम्पनी छनौट गरी काम थालेको हो ।

गाउँपालिकाका अनुसार १० वटा बिन्दुमा उत्खनन् गरिनेछ । १० वटा बिन्दुलाई ३ वटा प्याकेज बनाई ठेक्का लगाइएको थियो । गाउँपालिकाले उत्खनन् भएको नदीजन्य बस्तुको स्थानीय क्रसर व्यवसायीलाई बिक्री गरेको छ । उत्खनन् भएकै स्थानबाट क्रसर उद्योगीले ढुवानी गरी नदीजन्य बस्तु लैजाँदा प्रतिघनमिटर ६७ रुपियाँ (भ्याटसहित) खरिद गरेका छन् ।
उत्खनन् सुरु गरिएपछि गाउँपालिका अध्यक्ष उप्रेतीले ठूलै युद्ध जितेकोजस्तो महसुस भएको प्रतिक्रिया दिनुभयो । बर्षदिनभिर बिभाग, मन्त्रालय, मुख्यमन्त्री कार्यालय, जिल्ला समन्वय समिति धाउँदा धाउँदा वाक्क भएको भन्दै गिटीबालुवाभित्रको डरलाग्दो र घीनलाग्दो राजनीतिले आफू आजित बनेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here