मनहरी-गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा तथा विभिन्न संरचनामा आबद्ध मानिसहरुको शनिबार पनि फुर्सद छैन । न खाने फुर्सद, न त फोन उठाउने फुर्सद नै ।
उनीहरुको एउटै लक्ष्य छ-गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अलम्बन गरिएको गाउँपालिकाको रुपमा मनहरीलाई देशमै पहिलोपटक घोषणा गर्नै ।

डेढ बर्षअघिबाट सुरु भएको यो अभियानले अब पुस २८ गते सार्थकता पाउँदैछ । मनहरी गाउँपालिका वडा नं ७ स्थित राष्टिय रोटरी माध्यमिक विद्यालयको चौरमा बालमैत्री स्थानीय शासन घोषणा हुँदैछ उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट ।
उपप्रधानमन्त्री पोखरेल बालमैत्री घोषणाका लागि पुस २८ गते मनहरी आउने निश्चित भएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । अध्यक्ष उप्रेती पोखरेललाई निम्ता गर्न र मकवानपुरबाट निर्बाचित सांसद र सरोकारवालाहरुलाई समन्वय गर्न यतिखेर काठमाडौँ हुनुहुन्छ ।

यता हरेक वडामा धमाधम बालमैत्री शासनका ३९ वटा सूचकहरुबारे अनुगमन भइरहेको छ । हरेकजसो वडामा फरक फरक निकायहरुले वडामा ३९ वटा सूचकको जाँच गरिरहेको छ । यो क्रम जिल्ला समन्वय समितिले जारी राखेको छ । समितिले बाल सञ्जाल, जनप्रतिनिधिहरु, होटल व्यवसायी, बालमैत्री सहजकर्ता, टोल विकास संस्था लगायत सबै पक्षहरुसँग छलफल र परामर्श गरिरहेको छ ।

बालमैत्री घोषणाका लागि आधारभूत रुपमा बालश्रम र बाल विवाहका घटनालाई कडाईका साथ निस्तेज पारिएको उपाध्यक्ष मनिला बिष्टले जानकारी दिनुभयो । भौतिक पूर्वाधारहरुको निर्माण र पुननिर्माण बालमैत्री ढंगले गरिएको छ । ३२ वटा सामुदायिक विद्यालय र ८ वटा निजी विद्यालयलाई नै बालमैत्री सूचकहरु चुस्त दुरुस्त हुनेगरी अपडेट गरिएको छ ।
पुस २८ गते झाँकीसहित टोल विकास संस्था, जनप्रतिनिधिहरु, स्वयम्सेविका, विद्यार्थी, शिक्षक, पार्टीका प्रतिनिधिहरु र सर्बसाधारणहरु भब्य समारोहमा सहभागी हुनेगरी तयारी गरिएको छ । आवश्यक कागजी प्रक्रियाहरु पनि मिलाउने र अध्यवधिक गर्ने कार्यले निरन्तरता पाएको गाउँपालिका सामाजिक विकास अधिकृत राजेन्द्र चौलागाईले जानकारी दिनुभयो ।

सुरुमा बालमैत्री स्थानीय शासनका बारेमा सुन्न र बुझ्न नचाहेका मानिसहरु पनि बिस्तारै सचेत हुँदै गएका छन् । टोल विकास संस्थाहरुमा तालिम प्रदान गरिएपछि बालबालिकाहरुप्रति गरिने लगानी र उनीहरुका भविष्यका बारेमा महिलाहरु बढी सचेत हुन थालेका छन् । मनहरी गाउँपालिका वडा नं ६ स्थित भुलचोक खयरघारी टोल विकास संस्थाका अध्यक्ष सूर्यबहादुर विकले बाल विवाहको न्यूनिकरणमा यतिखेर टोल विकास संस्थाहरु सचेत भएको बताउनुभयो । स्थानीय बालिकाको विवाह भएका थाहा पाएपछि टोल विकास संस्थाको पहलमा पुन विवाह रद्द गरिएपछि समाजमा छुट्टै सन्देश गएको उहाँले बताउनुभयो ।

कानून कार्यान्वयन गर्ने र बालबालिकाको भविष्य उज्वल बनाउने गरी लक्ष्य निर्धारण गर्ने आधार निर्माणका लागि बालमैत्री शासन अत्यन्तै प्रभावकारी हुने भएकाले गाउँपालिको देशमै पहिलोपटक बालमैत्री शासन घोषणा गर्नेतर्फ अग्रसर भएको प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले बताउनुभयो ।

बालमैत्री घोषणाका लागि उपाध्यक्ष मनिला बिष्टको अगुवाईमा निरन्तर योजना तर्जुमा गर्ने, तालिम, गोष्ठी, अन्तरक्रियाहरु सञ्चालन गर्ने, बाल विवाहहरु रोक्ने, बाल श्रम न्यूनिकरण गर्नका लागि फिल्डमा पुग्ने काम भइरहेको छ । काम गर्दा थुप्रैपटक वाद विवाद भएको, कतिपयले रिस गरेको भए पनि अन्तमा आएर बाल श्रम गर्नेहरुले पनि कुरा बुझेपछि समझदार भएर अभियानमा सहभागी भएको अनुभव उपाध्यक्ष बिष्टले सुनाउनुभयो ।

अनुगमनमा आएका जिल्ला समन्वय समितिका पदाधिकारी तथा कर्मचारी एबम् सञ्चारकर्मीहरुले पनि बालमैत्री स्थानीय शासन घोषणाले मनहरी गाउँपालिका आगामी बर्षका लागि बालबालिकाको भबिष्यको आधार खडा गरेको प्रतिक्रिया दिएका छन् ।
बालमैत्री घोषणाका लागि बाल अधिकार समिति, गाउँ बाल सञ्जाल, बालमैत्री स्वयम्सवकहरु, बालमैत्री शासन समिति सक्रिय छ ।
जनप्रतिनिधिहरु, खासगरी वडाध्यक्षहरुले वडामा समन्वयकारी भूमिका निर्बाह गरी ३९ वटा सूचक पूरा गर्नका लागि कतिपय स्थानमा हस्तक्षेप समेत गर्नु परेको छ । यो अबधिमा प्रहरी, पत्रकार, नाटकका कलाकारहरु, कर्मचारी सबैले उत्तिकै भूमिका निर्बाह गरिरहेको गाउँपालिकाले जनाएको छ । कलाकारहरुले तयार पारेको खैँजडी भजन टोली, बाल कलाकारहरुले निर्माण गरेको नाटक पनि उत्तिकै प्रभावकारी बनेको छ । समग्र अभियानको कानूनी पाटो, सहजीकरणको पाटो र अगुवाईको काममा स्रोतव्यक्ति बिष्णुबहादुर चौबेले समय दिनुभएको छ । उहाँको सहजीकरणपछि गाउँ टोलसम्म सजिलै सन्देश पुगेको छ ।
