राक्सिराङ –राक्सिराङ गाउँपालिकामा भएका विकास निर्माणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरीहरु परेपछि योजना फरफारकमा समस्या भएको छ ।

योजना फरफारक नहुँदा उपभोक्ता समितिहरु मर्कामा पर्ने गरेको र विकास निर्माण नै प्रभावित हुँदै गएको जनप्रतिनिधिहरुले बताएका छन् । आयोगले सरकारलाई दिएको ६१ बुँदे सुझावका सम्बन्धमा गाउँपालिकाले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले राक्सिराङ गाउँपालिकाको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै प्रदेश नं ३ का सांसद ओमबहादुर ग्लानले राक्सिराङको विकासलाई ठप्प पार्नेगरी गरिएका गतिविधिहरु र बेनामे उजुरीहरुले विकासको चरणलाई अझ पछाडि धकेल्ने बताउनुभयो ।

उहाँले गाउँपालिकाले बिस्तारै विकासको गति लिँदै गइरहे पनि अनावश्यक उजुरीहरुका कारण समस्या आएकाले सबै मिलेर विकासमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिकाले पनि विकास निर्माणको क्रममा सबै पक्षसँग अभिभावकीय व्यवहार गरेर जानुपर्ने उहाँको भनाई थियो । अर्का सांसद सन्तबहादुर चेपाङले राजनीतिक खिचातानीका कारण राक्सिराङ गाउँपालिकाका विकास निर्माणका क्रममा अख्तियारमा बढी उजुरी परिरहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक पार्टीहरुबीच सहकार्य जरुरी रहेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गत आर्थिक बर्षमा १८ भन्दा बढी उजुरीहरु राक्सिराङ गाउँपालिकाको काम कारबाहीसँग सम्बन्धित भई आयोगमा परेकाले विकास कार्यमा अबरोध र अन्यौलता बढेको जानकारी दिनुभयो । उहाँले अनावश्यक उजुरीहरुका कारण कर्मचारीहरु गाउँपालिकामा काम गर्न डराउने अबस्था सिर्जना भएको सुनाउनुभयो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले अख्तियारले पठाएको सुझाव पत्र पढेर सुनाउनुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य राजाराम स्याङ्तान, नेपाल कम्युनिष्ट पार्टीका बनस्तम थिङ र नेपाली काँग्रेसका इश्वर रुम्बाले आवश्यक सहकार्य गरेर जानुपर्ने धारणा राख्नु भएको थियो । उपभोक्ता समितिका अध्यक्षहरु, वडाध्यक्षहरु तथा गाउँपालिकाका कर्मचारीहरुले पनि अन्तरक्रियामा अख्तियारको पत्रका कारण आएका समस्याहरु बताएका थिए । अन्तरक्रिया कार्यक्रममा बेनामे उजुरी गर्ने क्रमलाई न्यूनिकरण गर्ने तथा चित्त नबुझेको सन्दर्भमा गाउँपालिकाको उजुरीपेटिका प्रयोग गर्ने र गाउँपालिकाबाट सम्बोधन नभएका बिषयहरुमा मात्रै अख्तियारसहित अन्य निकायहरुमा जानका लागि मार्गप्रशस्त गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here