मनहरी–मनहरी गाउँपालिकाभित्र पर्ने मध्यवर्ती क्षेत्रहरुमा विकास निर्माण कार्यमा समेत अबरोध हुन थालेपछि पर्सा राष्ट्रिय निकुन्जका मध्यवर्ती क्षेत्रको सीमाना राप्ती खोलामै सीमित राख्नेगरी मनहरी गाउँपालिकाले गृहकार्य सुरु गरेको छ । यसका लागि गाउँ कार्यपालिका बैठकले निर्णय गरी सम्बन्धित निकायमा पहल सुरु गरेको छ ।

निकुन्जले २०६३ सालमा पूर्वपश्चिम राजमार्गको बीचको सेतो धर्सोभन्दा दक्षिणतर्फको क्षेत्रलाई मध्यवर्ती क्षेत्र भनी सीमांकन गरेको थियो । आफ्नो सीमानाभित्र गैरमध्यवर्ती क्षेत्रका उपभोक्ताहरुलाई प्राकृतिक स्रोत हकभोग गर्न रोक लगाएर प्रशासनिक समस्याहरु देखाउने गरेकाले मनहरी गाउँपालिकाले सीमाना हेरफेरको निर्णय गरेको हो । जस अनुसार पूर्वपश्चिम राजमार्गको बीच भागमा रहेको सेतो धर्सालाई सीमाना नमानी राप्ती खोलाको भेल बग्ने किनारलाई मध्यवर्ती क्षेत्रको उत्तरतर्फको अन्तिम सीमाना मान्नुपर्ने प्रस्ताब कार्यपालिका बैठकले गरेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

बन्यजन्तुको आक्रमण, गिटी, ढुंगाबालुवाको उपभोग लगायतका समस्या मध्यवर्ती क्षेत्रभित्र आइरहँदा समेत निकुन्जले नागरिकसँग राम्ररी जनसम्पर्क नबढाउने, प्रशासनिक झन्झट खडा गरेर जनतालाई दुःख दिने काम गरिरहेकाले सीमाना हेरफेरको प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ । कतिपय अबस्थामा स्थानीय सरकार र निकुन्जबीच अधिकार क्षेत्र जुध्दा पटक पटक समस्या भोग्नुपरेको अध्यक्ष उप्रेतीले बताउनुभयो । सीमाना सार्नेबारेमा स्थानीय सरकारले गरेको निर्णय पर्सा राष्ट्रिय निकुन्ज र निकुन्ज विभागमा समेत पत्राचार गरी कार्यान्वयनका लागि पहल गरिने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

हाल मनहरी गाउँपालिकाको १, २, ३, ४ र ५ पूर्ण रुपमा मध्यवर्ती क्षेत्रभित्र पर्दछ । त्यसैगरी वडा नं ७, ८ र ९ को सडकमुनिको भूभाग मध्यवर्ती क्षेत्रभित्र पर्नेगरेको छ । वडा नं ७, ८ र ९ भएर बग्ने राप्तीखोला र मनहरी खोलाबाट उत्पादन हुने ढुंगा, गिटी, बालुवा, ग्रेवल समेत विकास निर्माण र घर प्रयोगका लागि सडकमाथि घर भएका उपभोक्ता बञ्चित हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here