मनहरी–प्रदेश नं ३ को प्रदेश सभामा मकवानपुर क्षेत्र नं २ को प्रदेश सभा (ख) बाट निर्बाचित सांसद इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको ३ करोड रुपियाँ बराबरको योजनाहरु छनौट गर्नु भएको छ ।

प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ को (ख) अन्तरगत पर्ने कैलाश, राक्सिराङ, मनहरी र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा योजनाहरुको बाँडफाँट गरेको हो ।
३ करोड रुपियाँ खर्च हुने गरी १३ वटा योजनाहरु चालू आर्थिक बर्षमा खर्च गर्नेगरी बिनियोजन भएको छ । जस अनुसार ४ वटा योजना ५०/५० लाख रुपैँयाको र ८ वटा योजना १० लाख र एउटा योजना २० लाख रुपैँया लागतको हुने छ ।

बैठकले कैलाश गाउँपालिका वडा नम्बर २ को बैकुण्ठ–खोलाखर्क–छ्याङ्दुङ सडक स्तरोन्नति, मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको अग्निहोत्रा आश्रम भवन निर्माण, राक्सिराङ गाउँपालिका वडा नम्बबर ५ को बोटवारी परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा बसन्तपुर सडकका लागि ५०/५० लाख रुपैँया बजेट बाँडफाँड गरेको छ । हेटौँडा–१९ को डोदोन छोईलिङ बौद्ध गुम्बा पूर्वाधार निर्माणका लागि २० लाख रुपैंया बाँडफाड भएको छ ।

त्यसैगरी, हेटौँडा–१९ को शेर–शेर डुमारे सडक, हेटौँडा–१९ कै लेवट लेखपानी ज्यामिरे जोड्ने सडक, मनहरी गाउँपालिका वडा नम्बर ७ को पेमा छोईलिङ बौद्ध विहार गुम्बा पूर्वाधार निर्माण, कैलाश गाउँपालिका वडा नम्बर ४ को बेलटार–धुसाराङ–गरखाल मोटरबाटो स्तारोन्नतिका लागि १०/१० लाख बाँडफाँड गरेको छ ।

बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को तर्लिङ–ताल्ती सडक ट्रयाक खोल्ने कार्य, मनहरी गाउँपालिका वडा नम्बर ९ को सुवेदी टोल खानेपानी आयोजना, मनहरी गाउँपालिका वडा नम्बर ५ को वण्डेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण र हेटौँडा–३ को फडिङचोक सिंचाई आयोजनाका लागि १०/१० लाख रुपैँया बाँडफाँड गरेको छ ।

प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकमा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, अर्का प्रदेश सभा सदस्य ओमबहादुर ग्लान (प्रदीप), राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, कैलाश गाउँपालिकाका अध्यक्ष टंकबहादुर मुक्तान, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here