क्रसर अनुगमनका क्रममा निर्देशन दिनु हुँदै मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीसहित अनुगमन टोली ।

मनहरी–मनहरी गाउँपालिका वडा नं ८ मा रहेका क्रसर उद्योगहरुले अनियमित रुपमा उत्खनन् गरेको र सार्बजनिक सम्पत्तिको दुरुपयोग गरेको भन्दै सरकारले उद्योग सुधार गर्न एक महिने समयाबधि तोकेको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले एक महिनाभित्र पनि उत्खनन् गरिएको खाल्डाहरुको व्यवस्थापन र दुरुपयोग गरिएको सार्बजनिक जग्गा खाली नगरे क्रसर उद्योगहरु चल्नै नदिने चेतावनी दिनु भएको छ । शुक्रबार बिहान निस्केको जिल्ला अनुगमन समितिको टोलीले मनहरी पुल छेउमा रहेको अशोक बालुवा उद्योग, चतुर्मुखी क्रसर उद्योग, जनसेवा क्रसर उद्योग र ज्यामिरेको स्वस्तिक क्रसर उद्यो परिसरको अनुगमन गरेको हो । अनुगमनका क्रममा बगरबाट अनाधिकृत रुपमा ग्रेबल झिकेको पाइएको छ ।

जिल्ला अनुगमन समितिका समेत संयोजक रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती तथा सुरक्षा निकायका प्रमुखहरुसहितको टोलीले क्रसर तथा बालुवा उद्योगहरुको अनुगमन गरेको हो ।

‘यो ढंगको ज्यादति अन्यत्र देखिएको थिएन’, प्रमुख जिल्ला अधिकारी जोशीले भन्नुभयो ‘एक महिनाभित्र बेथितिलाई सुधार गरेमा उद्योगहरु सुचारु हुन्छ, अन्यथा चल्नै नदिने गरी बन्द गर्न बाध्य हुनेछौँ ।’ अनुगमनका क्रममा राप्तीबगरबाट ठूलो परिमाणको ग्रेवल उत्खनन् गरिएको पाइएको थियो भने क्रसर तथा बालुवा उद्योगहरुले सार्बजनिक जग्गा मिचेको पाइएको थियो । क्रसर उद्योगहरुको बेथितिबारे बिगतदेखि नै जानकारी प्राप्त भएपनि सुधार नभएकाले जिल्ला अनुगमन समितिको बैठक राखी अब कडाईका साथ नियमन गरिने जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।

अनुगमनमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, वडाध्यक्ष दिलबहादुर स्याङ्तान, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here