हेटौँडा–एसिड छ्यापेर भागेका भारतीय नागरिक दिलिपराज केसरी र एसिडका कारण अनुहार मात्रै होइन जिन्दगी नै बिग्रेपछि न्यायको पर्खाइमा रहेकी बिन्दबासिनी कंशाकारबीच प्रहरीको रोहबरमा देखादेख भयो ।

जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरेर मकवानपुर प्रहरी समक्ष पेस गरेपछि मकवानपुर प्रहरीले दिलिपराजलाई सार्बजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको थियो । र, सोही कार्यक्रममा सहभागी हुनुहुन्थ्यो बिन्दबासिनी पनि । ६ बर्षअघिदेखिको मानसिक, शारीरिक, आर्थिक र भौतिक क्षति खपिरहनु भएकी बिन्दबासिनी एकाएक दिलिपराजप्रति जाइलागिन् । बीचैमा प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भट्टराईसहित प्रहरी टोलीले रोक्नु भयो । ६ बर्षसम्म दिलिपराजलाई किन नसमातेको भनेर बिन्दबासिनीले प्रहरी नायब निरीक्षकप्रति आक्रोश पनि पोख्नुभयो ।

पत्रकार सम्मेलनमै एसिड हान्ने दिलिपराजको कठालो समात्ने प्रयत्नमा बिन्दबासिनी ।

मानवीय संवेदनाले माहौल लगभग मौनप्राय रह्यो । पत्रकारहरु स्तब्ध भएर क्यामेरा तेस्र्याइरहे । नजिकैको बोत्तलमा रहेको पानी खाइसकेपछि बिन्दबासिनी बोल्नु थाल्नुभयो । भन्नुभयो–‘यस्ताहरुका लागि जन्मकैद वा फाँसीको व्यवस्था हुनुपर्छ । त्यस्तै कानून बनाइयोस् । त्यस्तो कानून बन्यो भने सबै एसिडपीडितहरुमाथि न्याय हुन्छ ।’ केही बर्ष जेल राखेर मात्रै हुँदैन भन्ने उहाँको तर्क थियो ।

यस्तैमा उनले आफ्नो अनुहार बनाउनका लागि ८० लाख रुपियाँ भारतीय रकम खर्चेको सुनाउनुभयो । सरकारले कुनै पनि सहयोग नगरेको भन्दै उहाँले दिलिपराजको किड्नी, कलेजो बेचेर भएपनि त्यो रकम असुल गर्नुपर्ने तर्क राख्नुभयो । र, अन्त्यमा नेपाल प्रहरीका प्रमुख सर्बेन्द्र खनाल र बाराका प्रहरी नायब निरीक्षक सागर शम्सेर जबरालाई धन्यवाद दिनुभयो ।
२०७० साल बैशाख ९ गते बिन्दबासिनीको मुहारमा दिलिपराजले एसिड हानेका थिए । भारतको महाराजागंज अमरपूर्वन वडा नं ६ घर भएका दिलिपराज पनि हेटौँडामै व्यवसायमा संलग्न थिए । एसिड हानेपछि उनी भारत छिरे पनि बेला बेला नेपाल आउने गरेको पाइएको छ । उनले बिन्दबासिनीलाई प्रेममा पार्न अनेक नाटक गरेपनि असफल भएपछि एसिड हानेका थिए ।

बढीमा १२ बर्ष जेल
प्रहरीले फरार अभियुक्त दिलिपराजलाई पक्रेर कारबाही सुरु गरेको छ । तर, बिन्दबासिनीले भनेजस्तो आजीवन काराबास वा फाँसीको सजाय उनले अहिलेको कानून अनुसार पाउने छैनन् । उनलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १५ नं बुँदा बमोजिम ५ बर्षदेखि बढीमा १२ बर्षसम्म कैद सजाय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here