राजनीतिक वितृष्णाको अर्को निरन्तरता हो छ माया छपक्कै । युवाहरूमा नेपाली राजनीतिप्रतिको आकर्षण घट्दै जानु स्वाभाविक हो । फेरि पनि समाज विकासको वैकल्पिक मेरुदण्ड राजनीति बाहेक अरु के ? चलचित्र यही विषयमा अल्मलिएको देखिन्छ । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण नेपाली समाजका युवाहरू विचलित बनाउने एउटा विचारधारा पक्कै पनि होइन यो त जीवन बुझ्ने एउटा गतिशील र यथार्थ सामाजिक पाठ हो। कम्युनिस्ट राजनीति जडसूत्र मात्र हुन् ? विपक्षीलाई पेलपाल,ठेलठाल र ठोकठाक गर्ने विचार कम्युनिज्म हो भन्ने कोणबाट चलचित्रलाई अगाडि बढाउनु कम्युनिस्ट विरोधी विचार हो ।

दुईचार झोले कार्यकर्ता विचलित हुँदै गर्दा कम्युनिस्ट आन्दोलन सिद्धिन्छ भन्ने बुझाइ बुज्रुकहरूको भ्रम हो । अझ यसलाई म मीठो भ्रम भन्न रुचाउँछु । कम्युनिस्ट आन्दोलनमा अथाह लगानी गरेका एक योद्धालाई राजनीतिक वितृष्णाको भ्रम सिर्जना गराएर दर्शकहरूमा अर्को भ्रम सिर्जना गर्न खोज्नु चलचित्र एकपक्षीय हुनु हो । यति हुँदाहुँदै पनि चलचित्रले अन्तिम अवस्थासम्म दर्शकहरूलाई बाँधेर राख्नुलाई चलचित्र धर्मिता भने पक्कै मान्नु पर्छ । कलाकारहरूको अभिनयमा खोट लगाउने ठाउँ कतै पनि देखिन्न । निर्देशक दिपेन्द्र लामाको निर्देशकीय पक्ष तारिफयोग्य छ । ग्रामीण समाज पानीको अभावमा काकाकुल भएर पच्चीस वर्षदेखि मरेर बाँचिरहेको वास्तविकता कुनै नौलो बिम्ब होइन ।

पानी माथिको घिनलाग्दो राजनीति नेताहरूको अकर्मण्यता र अदूरदर्शीताको प्रष्ट तस्विर हो भन्ने सन्देश छोड्न खोज्नु सकारात्मक पक्ष हो चलचित्रको । तर गाउँका मानिसहरूले पानी पिउन नपाउनु कम्युनिष्ट आदर्शको दोष भने होइन । अन्धभक्त पार्टी कार्यकर्ता पार्टीको हुइपमा मात्र चल्ने यन्त्र हुन् तर चलचित्रले पार्टी भित्रको अन्तरसङ्षर्ष र फरक विचारलाई भने देखाउन सकेको छैन । पार्टी परिवर्तन आत्मसमर्पणवाद हो यद्यपि पार्टी परिवर्तन गरिरहने अपरिपक्व कार्यकर्ताहरूको मन भने चलचित्रले जितेको छ ।
लेनिनले भनेका थिए ू हजारौं गोलीको छर्राले नढलेको युवा एउटा यौनको लालसताले ढल्ने गर्दछ ।ू विचारमा विचलन आएपछि यो भनाइ चरितार्थ होला । तर चलचित्रमा कम्युनिस्ट राजनीति गरेका हार्डलाइनर भन्ने कार्यकर्ताहरू युवतीको प्रेममा ढलेको देखाउनु सच्चा कम्युनिस्ट कार्यकर्ताहरूको आत्मसम्मान माथिको ठेस हो । नेपाली समाजको ठेट्ना कार्यकर्ताहरूको भने वास्तविकता नै हो । राजनीतिक चेतनास्तर आजको समाजको अपरिहार्यता हो,राजनीतिबाट अलग बस्ने मानिसहरू सायदै होलान् । जसले अलग छु भन्ने काँचा कुरा गरिरहेका हुन्छन् , सबैभन्दा बढी नजिक ऊ नै देखिन्छ । राजनीति जीवनसँग जोडिएको मनोविज्ञान हो ।

समाज कुन कोणबाट अगाडि बढ्न सक्दछ भन्ने वैज्ञानिक चिन्तन नै राजनीति हो । युवाहरू यो चिन्तनबाट भागिरहने हो भने समाज कहाँ पुग्ला रु विषय सोचनीय छ । राइट टु रिजेक्ट अधिकार हो यद्यपि दीर्घकालीन समाधान भने पक्कै होइन । चुनावका दिन नो भोटको प्लेकार्ड बोकेर आन्दोलन गर्ने सिङ्गो गाउँ र छिमेकी गाउँ कहाँ छ रु स्वतन्त्र भन्नेहरू नै भोट अधिकार हो भन्दै सबैभन्दा अघिल्लो लाइनमा ब्यालेट पेपर बोकेर बसेको यथार्थ झलझली आँखामा छ । झन सोक्कट कार्यकर्ताहरूले त्यसो गर्लान् भन्ने कल्पना हजार निद्रामा पनि गर्न सकिन्न । यद्यपि त्यति माथिसम्मको चेतना खोज्न खोज्नु स्वैर कल्पना जस्तो लाग्दा लाग्दै पनि चलचित्रको अर्को सकारात्मक सन्देश हो भन्न सकिन्छ ।
चलचित्रको अन्त्य अर्थात समापन राजनीतिक बायसनेस छ । कम्युनिष्ट विचारभन्दा प्रजातान्त्रिक विचार नेपाली समाज सुहाउँदो र विकासप्रेमी विचार हो भनेर देखाउन खोज्नुले कम्युनिस्ट आन्दोलन माथि चलचित्र हेरेपछि प्रश्नचिह्न उठेको छ । कुन विचार प्रतिगामी र कुन विचार अग्रगामी रु यसको न्यायाधीश बन्न खोज्नु मल्टिपार्टी सिस्टममा हानिकारक छ ।

नाटककार बालकृष्ण समले ूदुस्खम् ननाटकम्ू भनेका थिए । चलचित्रमा गाउँलेहरूले अन्ततोगत्वा पानी पाए तर राजनीतिक स्क्रिनमा फेरि पनि उहीँ नेताहरूलाई देखाए । चलचित्र विकल्प दिन चुक्यो । न त विचारको विकल्प पेस गर्यो न त पुराना नेताको विकल्प रु क्रान्तिकारी कमरेडहरूले सुन्दर युवतीहरू प्राप्त गरे । उनीहरूले सामुहिक बिहे गरे। छ माया छपक्कैको सन्देश छताछुल्ल फैलियो । दर्शकहरूले मनोरञ्जन प्राप्त गरे । यद्यपि चलचित्र वैचारिक विचलनमा टुङ्गियो । चलचित्र विरोधाभासपूर्ण रह्यो ।

–साहित्यकार यश लामाको फेसबुक वालबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here