राक्सिराङ–दशैँको टिकाको दिनदेखि हराएका राक्सिराङ गाउँपालिका वडा नं ९ खैराङका एक युवक तीनदिनपछि मृत फेला परेका छन् ।

लामढुंगा–कान्सीराङ खण्डको भीरबाट लडेको अबस्थामा स्थानीय २७ बर्षीय डोलमान सिं ठकुरीको शब फेला परेको हो । राक्सिराङ गाउँपालिका–९ का वडाध्यक्ष रामकुमार थिङका अनुसार असोज २१ गते साँझदेखि उनी सम्पर्कबिहिन भएका थिए । तर शुक्रबार साँझ उनको शव गोठालाहरुले भीरबाट लडेको अबस्थामा फेला पारेको वडाध्यक्ष थिङले बताए ।

घटनापछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले शवलाई पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । बाटोबाट एक सय मिटर तल खसेको अबस्थामा लाश भेटिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले बताए । मृतक र केही स्थानीयबासिन्दाहरुबीच विवाद देखिएकाले मृत्यु रहस्यमय भएको आरोप परिवारले लगाएपछि विवाद गर्नेमध्येका दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here