मनहरी–संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले तत्कालीन राजा महाराजाको नाउँमा रहेको जहाज भाडा बक्यौता असुल गर्ने बताएका छन् ।

प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री भट्टराईले नेपाल बायु सेवा निगम धरासायी हुनुका कारण राजा महाराजाले निःशुल्क जहाज चढ्नु पनि एक भएको बताए । ‘झण्डै ५ करोड रुपियाँ बक्यौता हुन्छ, त्यसलाई ब्याजमा हिसाव गर्ने हो भने २० करोड बक्यौता देखिन्छ ।’ मन्त्री भट्टराईले भने-‘त्यस्तो बक्यौता उठाउनका लागि म आएको छु’, मन्त्री भट्टटराईले भनेका छन्–‘बक्यौता रकम सरकारको नाउँमा बाँकी देखिन्छ, त्यो रकम सरकारले तिर्ने कि उनीहरुको जायजेथाबाट उठाउने हो त्यसबारेमा हामी छलफल गर्छाै ।’
निगमको सुधारका लागि उच्चस्तरीय कार्यदल बनाइएको र कार्यदलले असोज १ गते प्रतिवेदन बुझाएसँगै बक्यौता उठाउने बिषय अघि बढ्ने मन्त्री भट्टराईले बताए । प्रतिवेदनले बक्यौता उठाउने बिषय पनि समेटिने उनले बताए ।
बक्यौता नतिर्ने राजा महाराजा र राजपरिवारका सदस्यहरुको नामावली सार्बजनिक गरिने मन्त्री भट्टराईको भनाई छ । उनले सरकार सफल हुँदै गएको बताएका छन् । कम्युनिष्ट नेतृत्वको सरकार सफल पार्नका लागि आफू प्रधानमन्त्रीलाई साथ दिन मन्त्री भएको उनले सुनाए ।

सरकार असफल हुँदैछ र गणतन्त्र पनि धरामा पर्दैछ भन्ने धमलाको जबाफ दिँदै मन्त्री भट्टराईले गणतन्त्र कसैले मास्न नसक्ने बताए । एकदुईजना मण्डलेहरुले बोल्दैमा राजतन्त्र फर्किहाल्ने, गणतन्त्र नासिइहाल्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ । ‘कम्युनिष्ट नरहे काँग्रेस आउला, काँग्रेस नरहे कम्युनिष्ट आउलान्’, मन्त्री भट्टराईले भने–‘तर कुनै भूतप्रेत फर्केर आउनेवाला छैन ।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट अधिनायकवाद आउँदैछ भनेको प्रसंगमा मन्त्री भट्टराईले धमलालाई हाँसेरै टारिदिए । ‘शेरबहादुर दाईले त्यसो भन्नु भएको छैन, कहाँ आउँछ अधिनायकवाद ? त्यस्तो होइन ।’, मन्त्री भट्टराईले हाँसेरै टारेका छन् ।

नेपालगंजमा आइतबार साँझ मण्डलेहरुले आफूमाथि नियोजित रुपमा अभद्र व्यवहार गरेको मन्त्री भट्टराईले बताएका छन् । उनले मण्डलेहरुसँग नडराउने चेतावनी दिँदै मण्डलेका हजुरबुवाहरुसँग लडेर आएको स्मरण गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here