मनहरी –मनहरी गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको राप्ती खोला क्षेत्रमामा उत्खनन् र निकासीका लागि छुट्टाछुट्टै ठेक्का लगाउने तयारी गरेको छ ।

राप्ती खोलामा विभिन्न केन्द्रहरु तोकी उत्खनन् गरिएका ग्रेवल डम्पिङ गर्ने र डम्पिङ भएका ग्रेवलको पुनः लिलाम गरी बिक्री गर्नेगरी व्यवस्थापन गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अब केहीदिनभित्रै ग्रेवल उत्खनन्का लागि ठेक्काप्रक्रिया सुरु हुनेछ ।

यसअघि परम्परागत रुपमा निकासी र उत्खनन् कार्यलाई सोलोमोलो एकै हिसावले गर्दै आइरहेको तत्कालीन जिल्ला विकास समितिको गलत शैलीलाई गाउँपालिकाले सच्याउन लागेको हो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा पनि उत्खनन् गर्नुपर्ने परिमाण ग्रेवललाई फिल्डबाट उत्खनन् गरी छुट्टै घाटगद्दी गर्नुपर्ने उल्लेख गरिएको हुन्छ । तर, ठेकेदारसँगको ‘सेटिङ’ मा परी घाटगद्दी नगरीकनै ग्रेवलको उत्खनन् र निकासी हुने गरेको आरोप लाग्ने गरेको छ । गत आर्थिक बर्षमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा यसबर्ष गाउँपालिकाले ठेक्का निकाल्न लागेको जनाएको छ । यसका लागि प्राविधिक र प्रशासनिक काम भइहरेको गाउँपालिकाले जनाएको छ ।

उत्खनन्, घाटगद्दी र बिक्री गर्ने कार्यलाई फरक फरक ढंगले व्यवस्थापन गरेपछि मनलाग्दी रुपमा तोकिएकोभन्दा बढी उत्खनन् गर्न बन्देज लाग्नेछ । क्रसर उद्योगहरुले पनि घाटगद्दीमार्फत ग्रेवल किनेर लैजानुपर्ने भएकाले जथाभावी उत्खनन् कार्य न्यूनिकरण हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अब्यवस्थित रुपमा थुपारिएका ग्रवेल, ढुंगा तथा बालुवाहरुको समेत स्टक प्रमाणिकरण गरिदिएको छ । दुईपटक सूचना प्रकाशन गरी गाउँपालिकाले विभिन्न क्रसर उद्योगहरु तथा सप्लायर्सहरुले गरेको डम्पिङ प्रमाणित गरिदिएको हो ।

साना तथा ठूला समेत गरी डेढ दर्जनबढी क्रसर र बालुवा उद्योगहरु मनहरी क्षेत्रमा रहेका छन् । गाउँपालिकाले गिटी बालुवा र ग्रेवल उत्खनन् र व्यवस्थापनलाई ध्यान दिन थालेपछि क्रसर उद्योगहरुका लागि ग्रेवलको मात्रा कम हुने अनुमान गरिएको छ । त्यसो त मध्यवर्ती उपभोक्ता समितिको सिफारिसमा घर बनाउनका लागि भन्दै बगरबाट उत्खनन् गरिने ग्रेवल र बालुवा क्रसर उद्योगमा जाने गरेकामा यस बर्ष सो कार्यलाई पनि नियन्त्रण गर्दै लगिने पर्सा राष्ट्रिय निकुन्जले जनाएको छ ।

–थाहादर्शन साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here