राक्सिराङ–राक्सिराङ गाउँपालिका ६ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा माध्यमिक तहमा अध्ययन गर्न घर छाडेर बसेका विद्यार्थीहरुका लागि खाद्यान्न सहयोग गरिएको छ ।
दीगो विकासका लागि एकता नेपाल र लिसा हिमालय इभीले विद्यालयको छात्रबास तथा अन्यत्र कोठा भाडामा लिएर पढ्न बसेका ३१ जना विद्यार्थीहरुका लागि खाद्यान्न हस्तान्तरण गरेको हो ।सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमाको छात्रबास तथा कोठा भाडामा लिएर अध्ययन गर्न बसेका ८,९ र १० कक्षाका ३१ जना विद्यार्थीहरुका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरु प्रदान गरिएको लिसा हिमालय इभीका कार्यक्रम निर्देशक अन्जनप्रसाद पौडेलले जानकारी दिए ।
संविधानसभा सदस्य गोविन्दराम चेपाङसहितका अगुवाहरुको हातबाट विद्यार्थीहरुलाई खाद्यान्न हस्तान्तरण गरिएको थियो । हस्तान्तरण गरिएका सामग्रीहरुमा चामल, केराउ, बोडी, बेसार, आलु, नुन, तेल, मसला, खुर्सानी, साबुन लगायतका दैनिक उपभोग्य सामग्रीहरु रहेका छन् ।
सन् २०२० सम्म छात्रबासमा बसेर अध्ययन गर्ने विद्यार्थीहरुका लागि दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराउने दीगो विकासका लागि एकता नेपालका कार्यक्रम व्यवस्थापक अनिल पौडेलले बताए । राष्ट्रिय माध्यमिक विद्यालयमा राक्सिराङ गाउँपालिका वडा नं ६ र ७ का दुर्गम गाउँहरु टोड्के, धिराङ, दामराङ, चरिमारा, पामपुङ, धुसाबगर, जुरेथुम, चापल लगायत गाउँबाट आएका विद्यार्थीहरु छात्रबास तथा कोठा भाडामा लिएर बस्ने गरेका छन् । टाढाको विद्यार्थीका लागि लक्षित गरी विद्यालयले नयाँ छात्रबास भवन निर्माण प्रक्रिया पनि अघि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम चेपाङले बताए ।
छात्रबासका लागि ३ नं प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १ करोड ५० लाख रुपियाँ बिनियोजित भई काम अघि बढिरहेको राक्सिराङ गाउँपालिका ६ नं वडाध्यक्ष सिंगलाल चेपाङले जानकारी दिए । केही दिनअघि वडाध्यक्ष सिंगलालले छात्रबास निर्माणका लागि ६ महिनाको तलब हस्तान्तरण गरेका थिए ।
–गोरखापत्रबाट