विकेशलाल श्रेष्ठ

प्रदेश नं ३ को राजधानी हेटौँडालाई नै बनाउनुपर्छ भनेर उफ्रिने पनि मकवानपुरबासी । त्यसो भए हेटौँडाको सडक चौँडा पारौँ भन्दा बिरोध गर्ने पनि मकवानपुरबासी नै । ‘सबैलाई स्वर्ग जान मन छ, तर मर्न सबैजना डराउँछन्, नमरी स्वर्ग पुगिन्न’ भनेजस्तै सुविधा र पहिचान सबैलाई चाहिने, कर्तब्य र योगदानको कुरा चाहिँ गौण भइदिने । सेवाको बिस्तार, गुणात्मकतामा भने मरिकाट्टे आवाज नउठाउने पछिल्लो प्रबृत्ति छ ।

जबसम्म नागरिक समाज र नागरिकका तर्फबाट अगुवाहरुले सार्बजनिक हीतका बिषयमा कुरा उठाउँदैनन्, तबसम्म समाज रुपान्तरण, सार्बजनिक संस्थाहरुको स्तरोन्नति असम्भव छ । त्यसैले बोल्न थाल्नुपर्छ । बिकृति हटाउन, कुरीतिको अन्त्य गर्न, गरिव र बिपन्नलाई लक्षित गरी सेवाको बिस्तार गर्नका लागि आवाजहरु बुलन्द पार्नु आजको आवश्यकता हो । आवश्यक परे सरकार र सार्बजनिक निकायको ‘कान समातेर’ सही ट्रयाकमा पनि ल्याउनुपर्छ । बोलेर, लेखेर यी सबै कुराको खबरदारी जरुरी हुन्छ । खबरदारी नगरेसम्म कुनै पनि ‘शासक’हरुले सुन्दैनन् ।

यस्तै खबरदारी सामाजिक सञ्जाल फेसबुकमार्फत हेटौँडाका युवा विकेशलाल श्रेष्ठले हेटौँडा अस्पताललाई गरेका छन् । उनले मध्यरातिको एउटा घटनालाई फेसबुकमा लेखेका छन् । उनको भनाईलाई मान्ने हो भने हेटौँडा अस्पतालले कुन दिन रामबहादुर बिरामी भएर मृत्यु भयो भने श्यामबहादुरको मृत्यु प्रमाण दिन बेर लाउँदैन । पढौँ विकेशलालको भनाई ।

शिक्षा र स्वास्थ दुई आवश्यक कुरा हुन् । जुन मानवीय जीवनमा अति आवश्यक मानिन्छ । यति बेला म मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका अवस्थित क्षेत्रीय अस्पताल मानिएको हेटौडा अस्पतालमा छु । २०७६ साल भदौ १८ गते वुधबारको दिन विहानको ठिक २ः४२ मा मलाई मनिष मोक्तान नाम गरेको भाईले ‘एक्कासी ज्वरो, आयो टाउको दुख्यो अस्पताल जाउँ न दाई’ भनी फोन गरे । करिब ३ः०० बजे म भाईलाई लिएर हेटौडा–१ अवस्थित मकवानपुर सहकारी अस्पताल पुगे । त्यहाँको अवस्था हेर्दा आकस्मिक सेवाको निमित्त पुग्दा बिरामी नै बिरामी मात्र देखिन्थ्यो । सुरक्षा गार्ड दाजुले एक जना सिस्टर बोलाईदिनु भो ।

बिरामी ।

तर सिस्टर सुरक्षा गार्डलाई कराउदै हुनुहुन्थ्यो । ‘आकस्मिक जाँचको बिरामीहरु नलिनु भनेको हैन भन्दै’ हप्काउदै हुनुहुन्थ्यो । ‘यहाँ प्राथमिक उपचार गर्दिनुस्, म अरु अस्पताल लान्छु’ भन्ने मेरो अनुरोधमा र एक प्रकारको सर्तपछि उहाँले विरामीलाई कति ज्वरो आएको छ भनेर हेर्दिनु भो र ज्वरोले छट्पटाई रहेको भाई त्यहीँ छोडी लगभग २०० मिटर पर रहेको हेटौडा सिटी हस्पिटल पुगे । त्यहाँ पुगेर ढोका ढक्ढकाउँदा समेत कसैले ढोका खोल्नु भएन र बाध्य भएर एक मिटरको पर्खाल हामफालेर हेटौडा सिटी हस्पिटल प्रवेश गरेँ । त्यहाँको ताल पनि उस्तै देखेँ ।आकस्मिक कक्ष सबै बिरामीले भरिएको थियो भने धेरै जसो बिरामी कुरुवाहरु जागरुक थिए । उहाँहरुलाई डाक्टरबारे सोधपुछ गर्दा थाहा नभएको र बिरामीको लागि बेड नभएको बरु अरु कुनै अस्पताल लैजान सल्लाह दिए ।

निराश भएर म फेरि मकवानपुर सहकारी अस्पताल लागँे । र, विरामी भाईलाई झरीमा रुझाउँदै प्राथमिक उपचारको लागि झिनो आशा बोकेर लागेँ हेटौडा अस्पताल । त्यहाँ पुग्दा आकस्मिक उपचार कोठामा राखिएको आठवटा खाटमध्ये दुईवटा खाट खाली थियो भने बाँकी ६ वटा खाटमा बिरामी थिए । भाईलाई लगेर बेडमा मैले सुत्न अनुरोध गरे र तुरन्तै पाँच जना स–साना भाई र बहिनीहरु सेतो कोट लगाएकाहरु ‘के भएको हो’ भन्दै सोध्न आईपुगे । झिनो आशासहित बिरामी भाईलाई अस्पताल पुगेको म निकै हर्षित भएँ र मनमनै सोचेँ हेटौडा अस्पतालको सेवा साँच्चै नै सुधारिएछ भनेर । तर जब ती भाईबहिनीहरुले ज्वरो नाप्ने र प्रेसर जाँच गर्न सुरु गरे तब मलाई अलि असहज महसुस भो । आकस्मिक सेवा उपलब्ध गराउने त्यस्तो संवेदनशिल ठाउँमा ती पाँचजना भाईबहिनीहरु अलि अत्तालिएको जस्तो मैले पाएँ । र जब स्लाइन हाल्नको लागि क्यानोला लगाउने पालो आयो, तब एक जना सेतो कोट लगाएको भाईले चार पटक प्रयास गर्दा पनि उक्त क्यानोला लगाउन सकेन । पिडाले छट्पटाई रहेको भाई देख्दा मलाई कता कता एक प्रकारको रिस पनि उठ्यो ।त्यसपछि म ‘डाक्टर को हुनुहुन्छ’ भन्दै खोज्न जाँदा एकजना दाजु आउनु भो ।

र, मैले क्यानोला लगाईदिन अनुरोध गरे । उहाँले सहज तरिकामा क्यानल लगाईदिनु भयो । पछि भाईबहिनीहरुलाई सोधपुछ गर्दा सबै त्यहाँ सिक्नको लागि बसेका हुन् भन्ने कुरा थाहा भयो । उहाँहरु हेटौडाको एक मेडिकल ईन्स्टिट्युटबाट हुनुहुन्थ्यो । टिकट घरमा टिकट काट्न पुग्दा पनि मनिष मोक्तानको नाममा गणेश मोक्तान भनी काटेछ्न । पछि ल्याब जाँचको लागि रकम तिर्न पुग्दा यसो भएछ भनेर भन्दा टिकट घर बस्ने दाजुले फेरि गणेश मोक्तानकै नाममा बिल काटिदिए । मैले सच्याउनको लागि अनुरोध गर्दा उहाँले आलटाल गरेर केही फरक पर्दैन भन्दै पन्छिनु भो । उहाँ निन्द्रामा नै हुनुहुन्थ्यो र त्यहीँ टिकट घरमा भेट भएको एक दाजु पनि गलत नाम भो भन्दै गुनासो गर्दै हुनुहुन्थ्यो ।

मनिष मुक्तानलाई गणेश मुक्तान भनेर यसरी टिकट काटियो ।

हेटौँडामा रहेका अस्पतालहरु साँच्चै नै कहाली लाग्दो अवस्थामा रहेछ भन्ने कुराको मलाई अहिले महसुस हुदैछ । साच्चै नै हेटौडा बजारबाट एउटा साधारण ज्वरो आएको बिरामीलाई प्राथमिक उपचारको निमित्त तिनवटा अस्पताल धाउनुपर्ने र पनि सन्तुष्ट उपचार पाउन सकिदैन भने यो भन्दा कठिन बिरामी र आपतकालीन बिरामी हेटौडाभित्र उपचार पाएर बाँच्न सक्ने अवस्था कति रहला ? यो कुराको कल्पना पनि गर्न सकिन मैले । यस्तो डर लाग्दो र कहालीलाग्दो अनुभव कसैले पनि गर्नु नपरोस् भन्दै गर्दा दिनहँु यस्तो घटना साधरण भएको मैले महसुस गरेको छु ।

यति सबै भोगिसकेपछि मेरो मनमा विभिन्न खालको प्रश्नहरु उब्जियो ।
१) हामी हेटौडा नगरपालिकाबाट उपमहानगरपालिका भइरहँदा हेटौँडामा स्वास्थ्यको नाममा के कति खालको परिवर्तन आएछ त ?
२) एक सामान्य खालको आकस्मिक सेवा उपलब्ध गराउन नसक्ने हेटौडाले हामीले ३ नं प्रदेशको राजधानी माग गर्न कतिको जायज होला ?
३) के अस्पतालहरु सेवामुखी भन्दा पनि आर्थिक पाटोतिर मात्र केन्द्रित भएको हो ?
४) सेवा दिन्छु भनेर बसेको निजि अस्पतालहरुले बिरामी राख्ने ठाउँ छैन अरु अस्पताल लानुस् भनेर भन्न कतिको ठिक छ?
५) सम्बन्धित अस्पतालको व्यवस्थापन समितिलाई बिरामीहरुसंग गरिने यस्तो व्यवहार र सम्बन्धित अस्पतालमा भईरहेको गतिविधि बारे सम्बन्धित निकाय जानकार होलान् ?
६) टाढा टाढाबाट आउने गाउँका विरामीहरुलाई अझ के कतिको समस्या पर्दाे होला रात्रीकालीन अवस्थामा ?
७) रात्रिकालिन सेवा दिन बसेका डाक्टर नर्सहरु सुतेरै बस्ने हुन् कि सेवा दिन पनि बसेका हुन् ?

नोटः स्टाटसका भाषा सम्पादन गरिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here