राक्सिराङ–मकवानपुरको राक्सिराङ गाउँपालिकामा सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टीको स्थानीय तह कमिटीले पूर्णता पाएको छ । जिल्लामा सबै स्थानीय तहलाई उछिन्दै राक्सिराङले कमिटीलाई पूर्णता दिएको हो ।

पार्टीको विधान बमोजिम ७५ सदस्यीय गाउँपालिका संगठन कमिटीले पूर्णता पाएपछि सपथग्रहण गराइएको हो । गाउँ कमिटीका सदस्यहरुलाई सपथग्रहण गराउँदै नेकपा केन्द्रीय सदस्य तथा सांस्कृतिक विभाग प्रमुख केदार न्यौपानेले कम्युनिष्ट पार्टीका गतिविधिहरुलाई तीब्र ढंगले अघि बढाउन निर्देशन दिए ।

उनले दुईवटा पार्टी एकताप्रक्रियामा देखिएको शिथिलताले केही समय समस्या देखिएपनि अब पार्टीले कम्युनिष्ट चरित्र, मूल्य र मान्यतालाई जनतामाझ अघि सार्ने बताए । दुई ठूला कम्युनिष्ट पार्टी एक हुँदा दुबै पक्षका राम्रा कुराहरुलाई जनतामाझ लगेर मन जित्नुपर्ने आवश्यकता रहेकामा उनको जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज रामेश्वर रानाले स्थानीय तहको निर्बाचनमा हार खाएको राक्सिराङ गाउँपालिकामा अर्काे निर्बाचनमा नेकपा सत्ताधारी दलको रुपमा स्थापित हुने विश्वास ब्यक्त गरे । अर्की केन्द्रीय सदस्य एबम् सह जिल्ला इन्चार्ज कुमारी मोक्तानले पनि एकता प्रक्रियापछि अब कुनै भेदभाव नगरीकन संगठन निर्माण र जनताको आधारभूत आवश्यकताहरुको परिपूर्तिका लागि कम्युनिष्ट पार्टी लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद ओमबहादुर ग्लान, सचिव प्रेमबहादुर पुलामी, कार्यालय सदस्यहरु एकालाल श्रेष्ठ, बलराम बल, प्रमिला लामा, सचिवालय सदस्यहरु राजाराम स्याङ्तान, बनस्तम थिङ, गोविन्दराम चेपाङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए भने सचिवालय सदस्य लालबहादुर थापाले ७५ सदस्यीय गाउँ कमिटी घोषणा गरेका थिए ।

नेकपा राक्सिराङ गाउँ कमिटी अध्यक्ष हस्तबहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव ओमकुमार स्याङ्तानले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य सानीकान्छी स्याङ्तान, निर्वाचित वडाध्यक्षहरु सिंगलाल चेपाङ, बाबुलाल स्याङ्तान, सन्जय कोइराला र चन्द्रसिंह चेपाङ सहभागी थिए ।

गाउँपालिका कमिटीले पूर्णता पाएसँगै अब वडा वडामा प्रशिक्षणात्मक कार्यक्रम आयोजना हुने नेकपाले जनाएको छ । यसअघि नै राक्सिराङ गाउँपालिकामा दुबै पार्टीका सदस्यहरु सम्मिलित वडा कमिटीहरु निर्माण भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here