कैलाश–मकवानपुरको दुर्गम कैलाश गाउँपालिका वडा नं १ मा जुवातास तथा घरेलु मदिरा बिक्रीबितरण कार्यलाई निरुत्साहित गर्ने सहमति भएको छ ।

स्थानीय डाँडाखर्क टोल विकास संस्था, प्रहरी चौकी, जागरण आमा समूह र १ नं वडा कार्यालयले एक बर्षअघि गरिएको निर्णयको कार्यान्वयनमा तदारुकता देखाएको हो । स्थानीय जागरण आमा समूहले २०७५ साल कात्तिक १० गते तास खेल्ने, तास खेलेको हेर्ने र घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने जोकोहीलाई ५ सय रुपियाँ जरिबाना गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयलाई कार्यान्वयन गर्ने गरी पुनः प्रहरी चौकी, आमा समूह, वडा कार्यालय र डाँडाखर्क टोल विकास संस्थाका पदाधिकारीहरुले प्रतिबद्धता जनाएको १ नं वडाका अध्यक्ष पेमा लामाले जानकारी दिए । उनका अनुसार भदौ १७ गते मंगलबार भएको सर्बपक्षीय बैठकमा पुरानो निर्णय कार्यान्वयन गर्ने सहमतिमा हस्ताक्षर भएको हो ।

जाँडरक्सी खाएर सरकारी र गैरसरकारी कार्यालयहरुमा जथाभाबी बोल्ने, जहाँ पायो त्यही जुवाकै रुपमा तास खेल्नेजस्ता गतिविधिहरु बढेपछि यस्तो निर्णय गरिएको हो । केही दिनअघि आमा समूहले स्थानीयबासिन्दाको घरमा तास खेलिरहेका केही युवाहरुलाई तास खेलिरहेकै स्थानमा ताला लगाएर थुनेको थियो । जुवातास, जाँडरक्सी र कुरीतिका बिरुद्ध स्थानीय टोल विकास संस्था र आमा समूहहरुलाई सक्रिय पार्ने काम भइरहेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here