राक्सिराङ–राक्सिराङ गाउँपालिका ६ नं वडाध्यक्ष सिंगलाल प्रजा (चेपाङ) ले आफूलाई राज्यले उपलब्ध गराउने ६ महिनाको तलब विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

राक्सिराङ गाउँपालिका ६ सिलिंगेस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा छात्राबास निर्माणका लागि जग्गा खरिद गर्ने प्रयोजनका लागि उनले १ लाख २० हजार रुपियाँ हस्तान्तरण गरेका हुन् । बिहिबार दिउँसो विद्यालयमा आयोजित तीज विशेष समारोहमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतीराम प्रजालाई नगद हस्तान्तरण गरेका हुन् ।

यसअघि गाउँपालिकाले उपलब्ध गराएको मोटरसाइकल पनि बहिस्कार गरेका वडाध्यक्ष सिंगलालले आफ्नो गाउँमा बन्न लागेको छात्राबासका लागि नगद सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आफ्नै व्यक्तिगत मोटरसाइकलबाट काम चलाउने भन्दै उनले आफूलाई प्राप्त हुने मोटरसाइकल कुनै प्रहरी चौकी वा स्वास्थ्य संस्थाका लागि उपयुक्त हुने सुझाव त्यतिखेर दिएका थिए । ‘मैले पहिलादेखि नै भन्दै आएको छु, हामी जनप्रतिनिधिहरु तलबका लागि आएका होइनौ’, उनले भने–‘तैपनि गाह्रो अफ्ठ्यारो पर्ला भनेर सरकारले उपलब्ध गराएको सुविधा लिनुपर्दा मन गह्रौँ हुनेगरको छ ।’ आफूले प्राप्त गर्ने ६ महिनाका तलब एकमुष्ट विद्यालयलाई बुझाउन पाउँदा आनन्द लागेको उनले सुनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संविधानसभा सदस्य गोविन्दराम चेपाङले आफ्नो गाउँ आफै बनाउका लागि स्थानीय जनप्रतिनिधिहरु लागिपरेकामा खुसी व्यक्त गरेका थिए । कार्यक्रममा जनचेतना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश चेपाङ, सिमरगाउँ टोल विकास संस्थाका अध्यक्ष दिलबहादुर लोप्चन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे ।
कार्यक्रममा ६ महिनाको तलब दिने वडाध्यक्ष सिंगलाललाई अभिनन्दन गरिएको थियो । तीज बिशेष कार्यक्रम अन्तर्गत स्थानीय ८ वटा टिममा सहभागी बालबालिकाहरुले चेतनामुलक गीत प्रस्तुत गरेका थिए । उनीहरुले बालविवाह बिरुद्ध तीज गीत प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here