मनहरी–पर्सा राष्ट्रिय निकुन्जको पदमपोखरी सेक्टर कार्यालय लामिटार र मध्यवर्ती उपभोक्ता समिति मनहरीबीच द्वन्द्व सुरु भएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति (काउन्सिल) को समेत नेतृत्व गरिरहेका मनहरी उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङ सेक्टर कार्यालयसँग क्रुद्ध बनेका छन् ।

एकापसमा समन्वय र सहयोग गर्नुपर्ने दुईवटै निकायबीच द्वन्द्व सुरु भएसँगै कामको सम्पादनमा समेत प्रश्न उठ्न थालेको छ । नेपाल सरकारले २०६३ सालदेखि साबिक मनहरी गाउँ विकास समिति अन्तर्गत पर्ने पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतर्फको क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषित गरेपछि यस क्षेत्रको प्राकृतिक स्रोतको व्यवस्थापन, उपभोग तथा अन्य क्रियाकलापहरुमा निरन्तर विवाद र द्वन्द्व सिर्जना भइरहेको छ । खासगरी यस क्षेत्रमा भइरहेका क्रसर उद्योगहरुले गर्ने उत्खनन् र गिटी बालुवाका लागि स्थानीय ट्रयाक्टर व्यवसायीहरुले गर्ने उत्खनन् र निकासीमा बढी विवाद हुने गर्छ ।

यसरी सुरु भयो विवाद
असार, साउन र भदौ महिनामा प्राकृतिक स्रोतको दोहन गर्न पाइँदैन । काठ काट्ने, गिटी बालुवा झिक्ने तथा अन्य कुनै पनि कामहरु गर्न सरकारले मनाही गरेको छ । तर, मनहरी क्षेत्रमा यो नियम उल्लंघन गर्दै हरेक बर्ष रातारात बालुवा उत्खनन् हुने गर्दछ । मध्यवर्ती क्षेत्रको राप्ती खोला र मनहरी खोला किनारमा जमेका बालुवा रातारात झिक्न पाए राम्रो मूल्य पाउने भन्दै केही व्यवसायीहरु रातारात बालुवा ‘चोर्न’ सक्रिय हुन्छन् ।

यस्तैमा भदौ ७ गते एउटा घटना भयो । राप्ती दोभानमा ना ६ त ५४४४ र ना ५ त ९२७२ नं को ट्रयाक्टर बालुवा लिन राति १० बजेतिर पुगेको थियो । त्यो थाहा पाएपछि मध्यवर्ती उपभोक्ता समिति र चोरी शिकारी नियन्त्रण युवा अभियानको टोली राप्ती दोभान पुग्यो । दुईवटा ट्रयाक्टर टोलीले फेला पा¥यो । इलाका प्रहरी कार्यालय मनहरीमा खबर भएपछि प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरी टोली त्यहाँ पुग्यो । र, प्रहरीलाई जिम्मा लगाएर ना ६ त ५४४४ नंको ट्रयाक्टर पठाइयो । सोही ट्रयाक्टर प्रहरीले पर्सा राष्ट्रिय निकुन्जको पदमपोखरी सेक्टर कार्यालय पठायो । अर्काे ट्रयाक्टर ना. ५ त ९२७२ भने खोलाबाट निकाल्न सकिएन । राति १२ बजेसम्म बलजफ्ती गर्दा पनि ट्रयाक्टर निकाल्न नसक्ने राति नै ट्रयाक्टर भाग्ला भनेर मध्यवर्ती उपभोक्ता समितिको नेतृत्वमा रहेको टोलीले ठूलो टायरको हावा खोलिदियो ।

भोलिपल्ट ५ बजे फेरि मध्यवर्तीको टोली ट्रयाक्टर भएको ठाउँमा पुग्यो । राति पर्सा राष्ट्रिय निकुन्ज पदमपोखरी सेक्टरलाई घटनाबारे जानकारी गराइएको थियो । बिहान ७ बजे नै निकुन्जको सेनासहितको टोली गेम स्काउडको नेतृत्वमा आएको थियो । निकुन्जको टोली आएपछि टोलीले हावा खोलिएको टायर भएको ट्रयाक्टरलाई बलजफ्ती तानेर मनहरी ८ सिम्पानीस्थित मनहरी बालुवा उद्योगको पछाडिसम्म ल्याइपु¥यायो । त्यतिखेर मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङ चढ्ने गाडी बिग्रिएकाले बनाउनतिर लागे । हावा खोलिएको ट्रयाक्टरको टायरबाट डिस्क र टायर छुट्टिने अबस्था आएपछि मिस्त्री समेत लगी बनाउन बनाउन लगाइएको थियो । त्यही बीचमा ट्रयाक्टर गायब भयो । निकुन्जको टोली पनि फक्र्याे ।

यता आफ्नो गाडी बनाएर फर्केका मध्यवर्तीका अध्यक्ष तितुङ दंग परे । रातिदेखि मिहेनत गरेर समातिएको दुईवटा ट्रयाक्टरमध्ये एउटा मात्रै सेक्टर कार्यालय निकुन्ज पुग्यो । निकुन्जकै टोलीको रोहबरमा रहेको ट्रयाक्टर कता उम्क्यो ? उनी निकै आक्रोशित भए । ‘समातिएको ट्रयाक्टर हामीलाई जानकारी र छलफल नगरी छोड्न मिल्छ ? किन यस्तो ग¥यो सेक्टर कार्यालयले ?’, अध्यक्ष तितुङ आक्रोश पोख्छन् । ट्रयाक्टर छुट्नुमा अनेक चलखेल रहेको अनुमान समितिले गरेको छ । यस्तै पारामा काम गर्ने हो भने मध्यवर्ती र सेक्टर कार्यालयको काममा जनताले विश्वास नगर्ने भन्दै समिति सेक्टर कार्यालयसँग रिसाएको मात्र छैन, सेक्टर कार्यालय समितिका अध्यक्षबीच एकसाता हुनलाग्दा समेत सम्पर्क छैन । बरु, ट्रयाक्टर छाडिएकाबारे उनले माथिल्ला निकायहरुमा रिपोर्टिङ गरिएको बताएका छन् ।

सेक्टरको छुट्टै तर्क
ट्रयाक्टर छाडिएका बारे पर्सा राष्ट्रिय निकुन्ज पदमपोखरी सेक्टर कार्यालयको आफ्नै तर्क छ । कार्यालयका सहायक वन अधिकृत सूर्य खड्काले राति निगरानीमा राखिएको ट्रयाक्टरबारे आफूहरुलाई बिहान ७ बजे मात्र जानकारी दिइएको उनको तर्क छ । यद्यपि राति १० बजेर ५४ मिनेट जाँदा अध्यक्ष तितुङले तीनपटक खड्कालाई फोन गर्दा फोन नउठेको तर्क गर्छन् ।
भोलिपल्ट निकुन्जको पदमपोखरी सेक्टरबाट सेनासहितको टोली पुगेको थियो । टोलीले ट्रयाक्टरको टायरमा हावा नभएकाले निकाल्न नसकिएको दाबी गर्छ । खड्का भन्छन्–‘उहाँहरुले ट्रयाक्टरको टायरको हावा खोलिदिनुभएछ, निकाल्न सकेनौँ ।’ निकाल्न नसकिएपछि निकुन्जको टोलीले ट्रयाक्टर छोडेर आएको उनको तर्क छ ।

तर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष तितुङ भने हावा खोलिएको ठाउँबाट निकालिएको ट्रयाक्टर राजमार्गतर्फ ल्याउँदै गर्दा बीच बाटोबाट (मनहरी बालुवा उद्योग नजिकै) एकाएक भगाइएको दाबी गर्छन् । ‘हामी बसेर छलफल गर्न र कानूनी लडाइँ लड्न पनि तयार छौँ’, सहायक वन अधिकृत खड्का भन्छन्–‘व्यक्तिगत झगडा वा इगोलाई निकुन्जसँग जोड्न मिल्दैन ।’

समितिद्वारा सम्बन्धित निकायहरुमा ध्यानाकर्षण
यसैबीच गस्तीमा रहेको पर्सा राष्ट्रिय निकुन्ज पदमपोखरी सेक्टर कार्यालयले मध्यवर्ती उपभोक्ता समिति, चोरी शिकारी नियन्त्रण युवा जागरण अभियान र प्रहरी मिलेर पक्रेको ट्रयाक्टर बीचबाटोबाट नै छोडेको बिषय मनहरी गाउँपालिका र पर्सा राष्ट्रिय राष्ट्रिय निकुन्ज आधाभारमा लिखित रुपमा जानकारी गराइएको छ । समितिको बैठकले यस घटनाको छानबीन हुनुपर्ने भन्दै मनहरी गाउँपालिका र निकुन्ज कार्यालयमा जानकारी गराएको अध्यक्ष तितुङले बताए ।

१६ वटा ट्रयाक्टर नियन्त्रणमा
राति राति बालुवा चोर्न गएका १६ वटा ट्रयाक्टर मध्यवर्ती उपभोक्ता समिति, प्रहरी, नेपाली सेना तथा राष्ट्रिय निकुन्जको टोलीले पक्राउ गरी लामिटारस्थित सेक्टर कार्यालयमा राखेको जनाइएको छ । ‘ती ट्रयाक्टरहरु पक्राउ पर्नुमा मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीहरु नै बढी खटिएका छन्’, अध्यक्ष तितुङ भन्छन्–‘सेक्टर कार्यालयका कामप्रति आम जनताले गुनासो गरिरहेका छन्, अपारदर्शी काम गरिरहेकाले हामी पनि उहाँहरुलाई सहयोग गर्नुपर्छ भन्ने पक्षमा छैनौ ।’

उपाध्यक्षमा अर्यालको ठाउँमा उप्रेती
यसैबीच मध्यवर्ती उपभोक्ता समिति मनहरीको उपाध्यक्षबाट सीताराम अर्याललाई हटाइएको छ । समितिको बैठकले बिधान बमोजिम नै अर्याललाई हटाएको जनाइएको छ । निरन्तर ३ वटाभन्दा बढी बैठकमा सहभागी नभएकाले उनलाई हटाइएको समितिका अध्यक्ष तितुङले जानकारी दिए । उनको ठाउँमा कार्यसमितिका सदस्य तेजराज उप्रेतीलाई राखिएको छ । अर्याललाई हटाइएसँगै उनको सदस्यता पनि सकिएको समितिले जनाएको छ । अर्यालले नेतृत्व गर्ने समूहबाट अर्का सदस्य माग गर्नका लागि पत्राचार गरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here