मनहरी–बेवारिसे बस्तुलाई बालबालिकाले खेल्ने प्लाष्टिकको बल सम्झेर खोल्न खोजेका कलबहादुरको दुबै हात गुमेको छ ।

मकवानपुरको कैलाश गाउँपालिका वडा नं ७ का ३५ बर्षीय कलबहादुरले २०७६ जेठ ३२ गते दिउँसो यस्तो नियति भोग्नुपरेको हो । ७०दिनपछि उनी चितवनको पुरानो मेडिकल कलेजबाट दुबै हात गुमाएर गाउँ फर्केका छन् ।

कैलाश ७ रतुवाबाट डोकोटारस्थित घर फर्कने बेलामा बाटोमा भेटिएको डल्लो नै उनको लागि अभिसाप भयो । जब प्लाष्टिकको डोरीले बाँधिएको आकर्षक डल्लो उनले देखे, प्लाष्टिकको डोरीको लोभ लाग्यो । डल्लो बाँधेको प्लाष्टिकको डोरी खोलेर कुचो बाँध्न पाए हुन्थ्यो भन्ने मनमा लाग्यो । बाटैमा पर्ने काका सोमबहादुरको घरमा पुगे । खाजा खानका लागि जाँड मागे । तर, जाँड भेटेनन् । डल्लो के बोकिराख्नु भनेर डोरी खोल्न खोजे । तर, एकैछिनमा ‘स्याँ’ गरेको आवाजसँगै बिस्फोट भयो । ‘त्यसपछि पानी मागेको सम्झना छ र काकाकी बुहारीले पानी दिएको सम्झना छ’, कलबहादुरले भने–‘एकैचोटी अस्पतालको बेडमा डाक्टरहरुले तिम्रो हात काट्नुपर्ने भयो भन्ने सुनेँ, हुन्छ वा हुँदैन भन्न नभ्याउँदै फेरि बेहोस् भएछु ।’

घटना भएको तेस्रो दिन डाक्टरले उनको दुबै हातको पञ्जा काटेर फालिदिए । अनुहारभरि बिस्फोटका कारण बारुदले जलेको जस्तै देखिन्थ्यो । घटना भएपछि समाजसेवी तथा अगुवा चित्रबहादुरलाई बुहारीले फोन गरेर कलबहादुरको श्वास जान मात्रै बाँकी छ भनेपछि सोही दिन बोकेर मनहरी ल्याई पुरानो मेडिकल पठाइएको चित्रबहादुरले बताए ।

७० दिनपछि घर फर्किएका कलबहादुर र उनकी श्रीमतीले आगामी दिनमा दैनिक गुजारा चलाउन समस्या हुने बताएका छन् । कान नसुन्ने बृद्ध सासु, अपांग छोरा र हात गुमेका श्रीमान स्याहार्नुपर्ने बाध्यता अब ३७ बर्षीया सम्झनालाई आइपरेको छ ।

प्रदेश नं ३ का माननीय ओमबहादुर ग्लान (प्रदीप), पूर्व सभासद गोविन्दराम चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानसहितका अगुवाईमा कलबहादुरलाई अस्पतालबाट निकालिएको हो । उनको उपचारका लागि लाग्ने रकम तिर्न नसक्दा अस्पतालले डिस्चार्ज गर्न भनेपनि घर ल्याउन सकिएको थिएन । सबै साथीभाई, माननीय, जनप्रतिनिधिहरु मिलेर नगद संकलन गरिएको र केही रकम छुट गर्न लगाएर बिरामीलाई डिस्चार्ज गरिएको समाजसेवी चित्रबहादुरले जानकारी दिए ।

५ जनाको परिवार रहेका कलबहादुरकी ४ बर्षका छोरा, ९ बर्षका अपाङ्ग छोरा, श्रीमती र कान नसुन्ने बृद्धा अबस्थाकी आमा छिन् । हातमुख जोर्न समेत समस्या खेप्दै आएका उनको परिवारले सहयोगको अपेक्षा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here