मनहरी–राक्सिराङ गाउँपालिका ९ खैराङमा रहेका विभिन्न बस्तीहरुमा बाख्राहरु मरेका छन् । एकमहिनाको अबधिमा १०० भन्दा बढी बाख्रा मरेपछि किसानहरु चिन्तित मात्र भएका छ्रैनन्, जतिसक्दो खसीबोका र बाख्राको बिक्री गर्न सुरु गरेका छन् ।

स्थानीय युवा यानेन्द्र थिङका अनुसार खसी, बोका र बाख्राहरुलाई निरन्तर ज्वरो आउने, सिँगान बगाउने, घाँटीमा घाउ खटिरा आउने र पखाला लाग्ने लक्षणहरु देखापरेपछि मर्नेगरेको छ । यस्तो लक्षण पीपीआरकै भएको राक्सिराङ निबासी समाजसेवी तथा पशु प्राविधिक इन्द्र थिङ बताउँछन् ।
यानेन्द्रका अनुसार राक्सिराङ ९ को तालाङ, सल्लेनी, गैजुराङ, टार, कोटेबाङ, अठारे लगायत टोलहरुमा पालिएका बाख्राहरु मरेका छन् । थिङका अनुसार ती बस्तीहरुका गालेदउ प्रजा (चेपाङ) को २१ वटा, अमरबहादुर थिङको ९ वटा, चतुरमान वाइबाको ५ वटा, सीताराम थिङको ४ वटा, दीपबहादुर घलानको वटा, होमराज स्याङ्तानको ५ वटा, एकराज थिङको ८ वटा, झलकबहादुर थिङको ७ वटा, धनराज ब्लोनको ९ वटा, रामबहादुर बाल्पाको ३ वटा, मीनबहादुर थिङको ३ वटा खसीबाख्रा मरेको छ । त्यसैगरी समृद्ध सल्लेनी कृषक समूहले पालेको ४ वटा खसीबोका समेत मरेको हो ।

एकमहिनाअघि अठारे गाउँमा आयोजना भएको पीपीआर विरुद्धको खोप शिविरमा बिरामी बाख्राहरु ल्याइएकाले अन्य गाउँहरुका बाख्रामा समेत पीपीआर सरेको हुनसक्ने अनुमान किसानहरुले गरेका छन् ।

‘शिविरबाट फर्केपछि हाम्रा गोठहरुमा पीपीआरको लक्षणहरु देखा पर्न थाल्यो’, यानेन्द्रले भने— ‘घरेलु प्रविधिको उपचार गरेर केही बाख्राहरु जोगाइरहेका छौँ, पशु प्राविधिकको सल्लाह पनि लिइरहेका छौँ ।’ गाउँमा दर्जनौँ बाख्राहरु मर्दासमेत गाउँपालिकाले प्राविधिकहरु खटाउन सकेको छैन । यसबारे राक्सिराङ ९ का वडाध्यक्ष रामकुमार थिङ (ओमराज) लाई ९८५५०७६६०९ र ९८५५०७०३६२ नं मा फोन गर्दा उनले उठाएनन् ।

अघिल्लो आर्थिक बर्षमा ससर्त बजेट प्राप्त भएकाले ३ जना पशु प्राविधिकलाई राक्सिराङका साबिकका गाविसहरुलाई सेवा दिने गरी राखिएपनि यसपटक करारका प्राविधिकहरुलाई राख्न नसकिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताए ।

आइरहेको बजेट कटौतिपछि प्राविधिक पाल्न गाउँपालिकालाई अफ्ठ्यारो भएको भन्दै अध्यक्ष मल्लले यसबारेमा पशु भेटरेनरी अस्पतालमा आफूले कुरा गरेको बताए । बर्षायाम भएकाले पशु प्राविधिकलाई गाउँ पुग्न पनि निकै कठिन रहेको स्थानीय बासिन्दाहरुले बताएका छन् । परेवाभीरको बाटो हुँदै मनहरीबाट खैराङ पुग्नुपर्ने बाध्यता छ भने कैलाश गाउँपालिकाबाट पनि त्रिभूवनराजपथको बाटो भएर खैराङ पुग्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here