मनहरी–गाँजाखेती पश्चिम मकवानपुरको कहिल्यै निको नहुने सामाजिक रोगको रुपमा रहेको छ । यसलाई निमिट्यान्न पार्नका लागि हरेक बर्ष राज्यको तर्फबाट प्रयत्न हुनेगरेको छ । तर, निर्मूल हुन भने सकेको छैन ।

यसै क्रममा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका अध्यक्षहरु, वडाअध्यक्षहरु तथा वडा सदस्यहरुले गाँजा खेतीका कारण समाजमा आइरहेको बिकृतिबारे चिन्ता ब्यक्त गर्दै निर्मूल पार्ने प्रतिबद्धता जनाएका हुन् । प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत मनहरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले ग्रामीणस्तरमा कृषिलाई व्यवसायिकीकरणण् गर्दै गाँजा निमिट्यान्न पारिनुपर्ने बताए ।

प्रमुख अतिथिको रुपमा रहेका गाउँपालिका महासंघ ३ नं प्रदेश समितिका समेत सदस्य रहेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले लागूऔषधको कारोबार उत्पादनले पश्चिम मकवानपुर नै दुर्घन्धित बनाएको बताए । उनले गाँजा खेतीको अबैध उत्पादन र कारोबार लगायतका धन्दाहरुलाई निमिट्यान्न पार्नका लागि समुदाय र प्रहरी मिलेर अघि बढ्नुपर्ने बताए । ‘लागूऔषधको खेती गरेर कोही पनि गरिवहरु धनी हुन सकेका छैनन्’, अध्यक्ष उप्रेतीको भनाई थियो ।
राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आफूले दुई दशकदेखि बिकल्पको कुरा गर्दै सडक निर्माणको माग गर्दै आइरहेकामा अहिले आएर सडकका कामहरुले मुर्त रुप लिन थालेको बताउनुभयो । उहाँले सडक सञ्जाल बिस्तार भइरहेकाले गाँजाको बिकल्पमा अन्य कृषि तथा पशुपालनको काममा स्थानीय सरकारले ध्यान दिने बताए ।

कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले विकास र चेतनास्तरको बिस्तार समान रुपले हुन नसक्दा लागूऔषधको असर पनि असमान रहेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुरका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले गाँजा अफिमको उत्पादनका दृष्टिले मकवानपुर अग्रस्थानमै रहेका सुनाए ।
कार्यक्रमको सभाध्यक्षता गर्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कानूनले बर्जित गरेको कुरालाई फेरि दोहो¥याएर प्रतिबद्धता जनाइरहनु नपर्ने भन्दै स्थानीय सरकारले लागूऔषध न्यूनिकरणका लागि ध्यान दिनुपर्ने सुनाए । कार्यक्रममा मकवानपुर उद्यो बाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष नारायण सुवेदी, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष बिमला कार्की, सञ्चारकर्मी सुवर्णलाल श्रेष्ठ लगायतले शुभकामना मन्तब्य दिएका थिए भने अन्तरक्रिया कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, वडाध्यक्षहरु, वडा सदस्यहरु, सञ्चारकर्मीहरु लगायतले धारणा व्यक्त गरेका थिए ।

मकवानपुरमा गत आर्थिक बर्ष २०७५/७६ मा ३ हजार १ सय ९३ किलोग्राम गाँजा बरामद भएको छ भने २०६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here