मनहरी–प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको मनहरी गाउँपालिका ६ प्रतापपुरका किसानहरुलार्ई भेटघाट गरी सहयोगको आश्वासन दिएका छन् । प्रतापपुरका किसानहरुका लागि आवश्यक पर्ने मल, बीऊ तथा तरकारी ढुवानीका लागि आवश्यक परेमा गाडी समेत उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले आश्वासन दिए ।
शुक्रबार दिउँसो प्रतापपुर पुगेका मुख्यमन्त्री पौडेलले किसानहरु निरन्तर कृषिकर्ममा लागेमा देश समृद्ध हुने बताए । ‘हरेक किसानहरुले यसैगरी तरकारी खेती गर्ने हो भने आर्थिक उपार्जनका अरु बिकल्पहरु सोच्नै पर्दैन ।’, मुख्यमन्त्री पौडेलले भने ।
१२ कट्ठामा तरकारी खेती गरिरहेका किसान सुकलाल राईलाई मुख्यमन्त्री पौडेलले तरकारी उत्पादनको नेतृत्व गरिरहेकामा धन्यवाद समेत दिनु भयो । सुकलालको तरकारी खेतीका बारेमा गोरखापत्रमा शुक्रबार समाचार प्रकाशन भएको थियो ।
‘तपाईहरु बिषादीरहित तरकारी खेती उत्पादनमा लाग्नुहोस्’, मुख्यमन्त्री पौडेलले भने–‘आवश्यक मल, बीऊ, प्लाष्टिक टनेलहरु तथा आवश्यक परेमा गाडीको समेत व्यवस्था प्रदेश सरकारले गरिदिनेछ ।’ मुख्यमन्त्रीको आश्वासन सुनेर किसानहरु खुसी भएका थिए । किसानहरुले बजारको बिचौलियाका कारण मूल्य नपाएको गुनासो पनि मुख्यमन्त्री पौडेल समक्षम राखेका थिए ।
अवलोकनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, राप्ती वन डिभिजन कार्यालयका प्रमुख दीर्घनारायण कोइराला, वडाध्यक्ष गोपीलाल मुक्तान, मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर तितुङ लगायतको सहभागिता थियो ।
मुख्यमन्त्री पौडेलसहितको टोलीले सामुदायिक लज, महिलाहरुले उत्पादन गरेको ढाकाका उत्पादनहरु, बोटे समुदायमा निर्माण भइरहेको एकीकृत बस्ती तथा पर्यटकीय क्षेत्र प्रवेश गर्ने मुख्य गेटको अवलोकन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here