मनहरी–गाउँपालिका अध्यक्षले नै जेल जान्छु भनेपछि कार्यक्रममा सहभागीहरु एकछिन अक्मकाए । तर मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले राप्ती वन डिभिजन कार्यालयका प्रमुख वन अधिकृत दीर्घनारायण कोइरालातर्फ फर्केर भनेँ–‘डिएफओ साब, अब म जेल जान तयार हुन्छु ।’ उनले कोइरालालाई आफूलाई पक्रन आउनका लागि पनि आग्रह गरे ।
राष्ट्रिय सामुदायिक वन दिवसको अबसर पारेर सामुदायिक वन उपभोक्ता समूह महासंघ मकवानपुरले मनहरी ८ स्थित पिसपार्कमा आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष उप्रेतीले यसो भनिरहँदा कार्यक्रममा सहभागीहरुमा कौतूहलता बढ्यो । अध्यक्ष उप्रेतीले थप्दै गए–‘सामुदायिक वन क्षेत्रको काठ चोरी निकासी हुने र चिरानी लागत पनि बढ्ने भएकाले मैले यहाँ काठ चिरान मिल बनाउनका लगाएँ, तर अहिलेसम्म चल्न दिइएको छैन ।’ गाउँमा काठ चोरी हुन्छ भनेर सरकारले बनाएको वन ऐनमै सामुदायिक वन क्षेत्रको नजिक काठ चिरान मिल राख्न नदिने व्यवस्था छ । त्यही व्यवस्था सहरमा भने लागू नहुने भन्दै अध्यक्षले भने–‘हेटौँडामा चिरान मिलहरु चलाउन पाइने, मनहरीमा नपाइने ? यो कस्तो कानून हो ?’
उनले कतिपय कानूनलाई मिचेर पनि अघि बढ्नुपर्ने अबस्था आएको भन्दै बोल्दै गए । र, भने–‘अब काठ चिरान मिललाई बिजुली नदिने, चलाउने अनुमति नदिने हो भने जेनेरेटर चलाएर भएपनि म काठ मिल चलाउँछु, अनि जेल जान्छु । त्यसरी जबरजस्त मिल चलाउँदा पक्कै पनि मलाई समाउन डिएफओ साब आउनुहोला, म जेल जान तयार छु ।’
जेल जाने बिषय अर्काे पनि रहेको अध्यक्ष उप्रेतीले सुनाए । मध्यवर्ती क्षेत्र र राष्ट्रिय निकुन्ज क्षेत्रले मनहरी गाउँपालिका क्षेत्रभित्र उत्पादन हुने गिटीबालुवा तथा ग्रेवलको निकासी र उत्खननका लागि ठेक्का लगाउन समस्या पारिरहेको प्रसंग उनले सुनाए । ‘मैले एक बर्षदेखि त्यतातिर पनि लगाइँ लडिरहेको छु, यसपटक पनि सजिलो नभएमा त्यहाँ पनि जबरजस्ती गर्नुपर्ने हुनसक्छ । त्यतिबेला पनि जेल जान तयार हुनेछु ।’ अध्यक्ष नै जेल गएपछि पक्कै पनि ऐन कानून सुधारका लागि देशमा छलफल हुने उनले आशा व्यक्त गरे ।
कार्यक्रममा राप्ती वन डिभिजनका प्रमुख दीर्घनारायण कोइरालाले सामुदायिक वन उपभोक्ता समूहको बिकृतिलाई न्यूनिकरण गर्नका लागि सबैले भूमिका खेल्नुपर्ने भन्दै विभिन्न उदाहरणहरु सुनाए । उनले वन विकास कोष सुरक्षित भएपनि अन्य कोष आम्दानी भएको १०–१५ दिनमै खाली हुनेगरेको उनले सुनाए ।
हेटौँडा वन डिभिजन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले वन अतिक्रमण समस्याको रुपमा आएको बताए । उनले अतिक्रमित जग्गालाई बैधानिकता दिँदा त्यसले समस्या निम्त्याउने बताए ।
कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका प्रशिक्षक बिजयराज सिग्देल, कबुलियती वन उपभोक्ता समूह महासंघकी अध्यक्ष सुन्तली चेपाङ, समाजसेवी रामहरि सुवेदी, रानी सामुदायिक वन उपभोक्ता समूह हेटौँडा ६ का अध्यक्ष कृष्ण बिडारी लगायतले सामुदायिक वन उपभोक्ता समूहको समस्या र बिकृतिहरु र सुधारका प्रयासहरुका बारेमा मन्तब्य ब्यक्त गरेका थिए । महासंघ जिल्ला अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासंघ प्रदेश सदस्य रामहरि चौलागाईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here