मनहरी–मकवानपुरको पश्चिम क्षेत्रमा क्रिश्चियन समुदायकै बेइज्जत हुने गरी केही अगुवाहरुले आर्थिक चलखेल गरेका छन् ।
राक्सिराङका बाढीपीडितहरुका लागि भनेर दातृ निकायसँग निःशुल्क मागेर ल्याइएको चामल ५०० रुपियाँ प्रतिबोराका दरले बिक्री गरिएको पाइएको छ । स्रोतका अनुसार मनहरीको प्याङ्चेबाट चामल बिक्री बितरण गरिएको हो । पहिलो चरणमा प्रतिबोरा ५०० रुपियाँ लिएर चामल बिक्री गरेको पाइए पनि चामल बिक्री गर्नेहरुको नाम भने स्रोतले खुलाउन चाहेनन् । यद्यपि गाडीभाडाबापतको रकम उठाइएको उनीहरुले बताउने गरेको स्रोतले जानकारी दियो । पछिल्लो समय दोस्रो लटमा पनि ७०० बोरा चामल ल्याएर मनहरी आसपासकै क्षेत्रमा स्टक गरिएको छ । ७०० बोरा चामल बिक्रीका लागि ती अगुवाहरुले ‘ग्राहक’ खोजी गरिरहेको स्रोतले जानकारी दिएको छ ।
यसैबीच राक्सिराङमा निःशुल्क चामल बिक्री भइरहेकोप्रति ५ नं वडाध्यक्ष चन्द्र सिं चेपाङले अनविज्ञता प्रकट गरे । उनले आफूले पनि हल्ला सुनेको बताउँदै वडा कार्यालयमा कोही कसैले जानकारी नदिएको बताए । वडा नं ८ का वडाध्यक्ष रामकृष्ण चेपाङले पनि बिकृति बढेको पाइएको सुनाए । ‘दोषीलाई कारबाही गर्नुपर्छ’, उनले भनेका छन्–‘गरिवको नाउँमा ब्यापार गर्ने र धर्मकै बेइज्जत गर्ने जोकोही अब सुध्रिएनन् भने कारबाहीको दायरामा ल्याउनु जरुरी हुन्छ ।’

सिडिओको चासो
यसैबीच राक्सिराङमा भइरहेको चामल व्यापार सम्बन्धमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले चासो लिएका छन् । उनले गलत काम गर्ने जोकोहीलाई कानूनी कारबाहीमा ल्याउने भन्दै तत्कालै राज्यको संयन्त्रले खोजी गर्ने बताएका छन् । मनहरी लाइभ डटकमसँग कुराकानी गर्दै उनले भने–‘त्यस्ता बदमासी गर्नेहरुलाई नियमन गर्नेछौँ ।’

भूकम्पका बेला पनि भुसुक्कै
भूकम्पका बेला मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा आएका राहतहरु अधिकाँश बिक्री भएको पाइएको छ । राहतका लागि केही स्वार्थ बोकेका क्रिश्चियनका अगुवाहरुले स्वदेशी तथा विदेशी दातृ निकायहरुसँग चामल, चिउरा, जस्तापाता माग गर्नेगरेका थिए । यद्यपि बैधानिक रुपमा राहत बितरण गर्नेहरुले भने पारदर्शी रुपमा बिक्री बितरण सम्बन्धित स्थानमै गएर गर्ने गरेका छन् ।
स्वार्थ बोकेका मानिसहरुले स्थानीय तह, प्रहरी तथा प्रशासनसँग कुनै पनि समन्वय नगरी मनहरी बजारमै राखेर लाखौँ बोरा चामल र हजारौँ थान जस्तापाता बितरण गरिएपनि ५० प्रतिशत चामल पनि गाउँ नपुगेको स्थानीय अगुवाहरु बताउँछन् । मनहरी बजारका ठूला होलसेल किराना र खाद्यान्न पसलमा खरिद गरी बितरण गरिएका चामलहरु हस्तान्तरण गरिएको फोटो खिचेर पुनः सोही पसलमा बिक्री गर्ने गरिएको थियो ।
निःशुल्क चामल, जस्तापाता तथा कपडा बितरण गर्ने चलनले चेपाङ समुदायमा श्रम गर्ने चलन पनि हराउँदै जान थालेको छ भने आत्मनिर्भरता भन्दा पनि परनिर्भर उन्मुख समाज निर्माण हुँदै गइरहेको छ ।

तस्वीरः नितान्त सांकेतिक प्रयोजनका लागि मात्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here