मनहरी–काम नपाएर विदेश गइरहेका युवाहरुका लागि मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ प्रतापपुरका किसानहरु उदाहरणीय बनेका छन् ।
श्रम गर्न सके गाउँमै आर्थिकोपार्जन गर्न सकिने भन्दै उनीहरु निरन्तर तरकारी खेतीमा छन् ।
राष्ट्रिय निकुन्ज क्षेत्रमा जंगली जनाबरहरुले दुःख दिने र आक्रमण समेत गर्ने समस्या भएपछि सरकारले स्थानान्तरण गरी स्थापना गरिदिएको प्रतापपुर बस्तीका ५३ जना किसानले गत आर्थिक बर्षमा तरकारी खेती गरे । १० धूरदेखि १८ कट्ठा जग्गामा तरकारी खेती गरेका किसानहरुले एक बर्षको अबधिमा ५१ लाख रुपियाँ गाउँमा भित्र्याएको मनहरी गाउँपालिका वडा नं ६ का वडा सदस्य कृष्ण राईले बताए । १२ बिगाह क्षेत्रमा लगाइएको तरकारीबाट उनीहवरुले आम्दानी प्राप्त गरेका हुन् ।
प्रतापपुरस्थित राईहरुको बाहूल्यता रहेको बस्तीमा तरकारी खेतीमा रमाउने किसानमध्येका एक हुन्–सुकलाल राई । उहाँले यो बर्ष १२ कट्ठा जग्गामा तरकारी खेती गर्नु भएको हो । अहिले पनि तरकारी खेतीमै निरन्तरता दिँदै उहाँले भ्यान्टा र बोडीको रोपिरहेका छन् । ‘१२ कट्ठा जग्गामा गरिएको तरकारी आफैले खाएर पनि मैले ५ लाख रुपियाँको बिक्री गरेँ’, सुकलाल भन्नुहुन्छ–‘सबै काम आफैले गरेकाले ३ लाख ५० हजारजति कमाई पनि भयो ।’
सुकलालजस्तै वडा सदस्य कृष्ण राई, तारा राई जस्ता किसानहरु यतिखेर तरकारी खेतीमा मरिमेटेर लागेका छन् । तरकारी खेती गर्ने किसानको संख्या यो बर्ष झन् बढ्ने वडा सदस्य कृष्णले जानकारी दिए । किसानहरुले भन्टा, खुर्सानी, लौका, सिमी, बोडी, घिरौँला, गोलभेँडा जस्ता तरकारीहरु उत्पादन गरेका हुन् । उनीहरुले उत्पादन गरेको तरकारी बिषादीरहित समेत भएको वडा सदस्य राईले बताए ।
मनहरी गाउँपालिकाले तरकारीको निकासी सजिलो पार्नका लागि गत आर्थिक बर्षमा पूर्वपश्चिम राजमार्गको लच्कादेखि प्रतापपुर जोड्ने पुल बनाइदिएपछि किसानहरु अझै हौसिएका छन् । पुल बनेपछि तरकारीको लागि मल, बीऊ बिजन ल्याउन तथा उत्पादित तरकारीको निकासी गर्नका लागि सजिलो परेको किसान सुकलालले बताए ।
प्रदेश सरकारले अर्गानिक जोन निर्माण गर्नका लागि गरिरहेको पहल र किसानहरुको लगनशीलता देखेर गाउँपालिका प्रभावित भएकाले चालू आर्थिक बर्षमै किसानहरुका लागि सहुलियतका कार्यक्रमहरु सञ्चालन गरिने मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । उनले भने–‘हामीले प्रतापपुरमा अर्गानिक तरकारी उत्पादन क्षेत्र निर्माणका लागि पहल गरिरहेका छौँ ।’ मनहरी गाउँपालिका मकवानपुरको पालुङपछि तरकारी खेतीका लागि चर्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here