राक्सिराङमा यो बर्ष १० पटक हाट बजार चल्ने, सबै वडाले प्रदर्शन गर्ने

राक्सिराङ–पुस २७ गते । राक्सिराङ गाउँपालिका वडा नं ५ चैनपुरमा चालू आर्थिक बर्षमा १० पटक हाटबजार मेला आयोजना हुने भएको छ । पुस १५ गतेबाट सुरु भएको हाटबजारको सृंखला अब १० वटा बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँ कार्यपालिका कार्यालयले जनाए अनुसार अब माघ १ र १५, फागुन १ र ५, चैत १ र १५, बैशाख १ र १५, जेठ १ र १५ मा हाट बजार सञ्चालन हुनेछ । अध्यक्ष राजकुमार मल्लले दिनु भएको जानकारी अनुसार हाटबजारलाई अब नितान्त मौलिक उत्पादन, कला, साहित्यको चौतारीको रुपमा विकास गरिनेछ ।

जस अनुसार हरेक हाट बजारमा फरक फरक वडाहरुले आफ्नो कला, साहित्य, संस्कृति प्रदर्शन गर्नेछन् र प्रतियोगितात्मक रुपमा अघि बढाइनेछ ।

जस अनुसार आउँदो माघ १ गते वडा नं ३ को तर्फबाट हाट बजारको व्यवस्थापन र प्रस्तुति हुँदैछ । स्थानीय कलाकार, भाषा, साहित्य र संस्कृतिको प्रदर्शनी गरी ३ नं वडाले उत्कृष्ट प्रदर्शन गर्ने तयारीमा आफूहरु जुटेको वडाध्यक्ष उत्तम वाइबाले बताउनुभयो ।

‘हाम्रो वडामा रहेको लोकप्रिय पन्चेबाजा, नेपालकै पहिलो चेपाङ गायक रविनकुमार चेपाङको प्रतिभासहित थुप्रै लुकेर बसेका कला, साहित्य र संस्कृतिलाई प्रस्तुत गर्ने जमर्काे गर्दैछौँ’, वडाध्यक्ष वाइबाले भन्नुभयो ।

माघ १५ गते ८ नं वडा कार्यालय, फागुन १ गते ७ नं वडा कार्यालय फागुन १५ गते ६ नं वडा कार्यालय, चैत १ गते ५ नं वडा कार्यालय, चैत १५ गते ४ नं वडा कार्यालय, बैशाख १ गते ९ नं वडा कार्यालय, बैशाख १५ गते २ नं वडा कार्यालय, जेठ १ गते १ नं वडा कार्यालयले हाट बजारमा प्रस्तुतिको व्यवस्थापन गर्नेछ ।

जेठ १५ गते भने हाट बजार व्यवस्थापन समितिले औपचारिक कार्यक्रम गरी उत्कृष्ट प्रस्तुति दिनेहरुलाई प्रमाणपत्र, पुरस्कारसहित हाट बजारको अन्त्य भएको घोषणा गर्ने कार्य सूचि छ । ‘हामीले हाटबजारलाई थप सिर्जनात्मक बनाउँदै अघि लैजानका लागि वडा कार्यालयलाई नै बढी जिम्मेवार बनाउन खोजेका हौँ’, उपाध्यक्ष बनस्तम थिङले भन्नुभयो ।

हाट बजारमा हाल स्थानीय उत्पादनहरु चिउरीको मह, तरुल, गहत, मास, मस्याङ, भटमास, गोलभेँडा, काउली, गुन्द्रुक, लोकल कुखुरा, लोकल खसीको मासु, लोकल बंगुरको मासु, आरनमा उत्पादित फलामे औजारहरुसहित स्थानीय उत्पादनहरुको बिक्री भइरहेको छ ।

बजारबाट गएका बजारिया सामग्रीहरुको बिक्री बितरणलाई घटाउँदै लैजाने तयारी समेत रहेको हाट बजार प्रचार प्रसार समितिका संयोजक ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here