राक्सिराङमा यसरी मन्चन भयो चेपाङ संस्कृति र कला (तस्वीरसहित)

मनहरी–फागुन १ गते । राक्सिराङ गाउँपालिकाले गाउँपालिका केन्द्र वडा नं ५ चैनपुरमा नियमित सञ्चालन गरेको कृषि हाटबजारमा चेपाङ समुदायको कला, संस्कृति, परम्परालाई सबैले बुझ्नेगरी प्रदर्शन गरिएको छ ।

चेपाङ समुदायको उद्गम स्थलको रुपमा रहेको राक्सिराङ गाउँपालिका ७ का तर्फबाट चेपाङ कला, संस्कृति र संस्कारलाई प्रदर्शन गरिएको हो । केही दिनको तयारीपछि पूर्ण रुपमा चेपाङ समुदायमा देखिने समस्या र समाधानका उपायहरु, चेपाङ समुदायको पाण्दे (झाँक्री, अगुवा) को काममा भएको रुपान्तरण, बाल विवाह तथा बहुविवाह, जाँडरक्सी सेवनपछिको घरपरिवारको अबस्था लगायतका बिषयमा नाटक, गीत, प्रहसन तथा खेलकुद प्रदर्शन भएको थियो ।

माइत आउने चेलीले चेपाङ समुदायमा केरा, तरुल, गिठा, भ्याकुर कोसेली ल्याउने चलनलाई समेत रक्सी, बियर, कोल्ड ड्रिंक्सहरुले बिस्थापन गर्दै गएको तर कोल्ड ड्रिंक्स र जंक फुडहरुले मानिसहरु बिरामी परेको सत्य घटनालाई नाटकीय रुपमा चेपाङ कलाकारहरुले प्रस्तुत गर्नु भएको थियो ।

७ नं वडाले ब्यवस्थापन गरेको कृषि हाट बजारमा प्रस्तुत अधिकाँश सांस्कृतिक कार्यक्रमहरु चेपाङ भाषामै थिए । चेपाङ किंवदन्तीसँग सम्बन्धित भावुक गीतहरु समेत कलाकार मिलन चेपाङ लगायतले पस्कनु भएको थियो । त्यसैगरी व्यंग्यात्मक नृत्य बिष्णु मुक्तानको तर्फबाट भएको थियो ।

हाटबजारमा बागमती प्रदेशका पशुपंक्षी तथा कृषि विकास मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यता तथा ७ नं वडाध्यक्ष रामबहादुर प्रजाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर चेपाङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गड्तौला, वडाध्यक्षहरु उत्तम वाइबा, हरिबहादुर प्रजा, रामबहादुर प्रजा, नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुसीलाल चेपाङ, पूर्व केन्द्रीय सदस्य कृष्णबहादुर चेपाङ लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकारहरु तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यसैबीच बागमती प्रदेशका पशुपंक्षी तथा कृषि विकास मन्त्री डाक्टर राजेन्द्रमान श्रेष्ठले राक्सिराङ विकास संस्थाले सञ्चालनमा ल्याएको रेडियो राक्सिराङको उद्घाटन समेत गर्नु भएको छ ।

तस्वीरहरुः शिवकुमार काशी/मनहरी लाइभ डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here