युनिभर्सल लर्निङ एकेडेमीद्वारा विरामी छात्रालाई ५० हजार सहयोग

मनहरी–असार २७ गते । बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने अबस्थामा उपचार गराइरहनु भएकी एक बालिकालाई मनहरी ७ स्थित युनिभर्सल लर्निङ एकेडेमीले ५० हजार ४ सय ९५ रुपियाँ सहयोग गरेको छ ।

राक्सिराङ गाउँपालिका ४ घर भएकी ७ बर्षीया साहिसा स्याङ्तानको उपचारका लागि युनिभर्सलमा अध्ययनरत विद्यार्थीहरुबाट संकलित रकममा शिक्षक र विद्यालय व्यवस्थापन समितिले समेत थपथाप गरेर ५० हजार ४ सय ९५ रुपियाँ नगद उपलब्ध गराइएको हो ।

स्याङ्तान सोही विद्यालयमा युकेजीमै अध्ययनरत हुँदा एक बर्षअघिदेखि बिरामी पर्नु भएको हो ।
त्यसैगरी सोही रकममा मनहरी गाउँपालिका ७ का वडाध्यक्ष ठाकुरराम तितुङको तर्फबाट ५ हजार, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरबाट २ हजार र नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाका उपसचिव इश्वर थापाबाट १५ सय समेत गरी कूल ५८ हजार ९ सय ९५ रुपियाँ बिरामीका फूपू दिदी कलावती स्याङ्तानमार्फत हस्तान्तरण गरिएको हो ।

विद्यालयमा गठित हाउस क्लवका क्याप्टेनहरुले रकम हस्तान्तरण गर्नु भएको थियो ।
युनिभर्सल लर्निङ एकेडेमीमा आयोजित रकम हस्तान्तरण समारोहमा ७ नं वडाध्यक्ष ठाकुरराम तितुङ, वडा सदस्य नवराज सुवेदी, मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धर, मनहरी खानेपानी सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनकुमार जोशी, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, साहिसा स्याङ्तान बचाऔँ अभियानका अगुवा सुमित्रा प्रजा, युवा समाजसेवी तथा मजदुर नेता गोविन्द गलान, नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाका सहसचिव इश्वर थापा, विद्यालयका अध्यक्ष शिवकुमार रिजाल (काशी), निमित्त प्रिन्सिपल शुक्रबहादुर प्रजा, सञ्चालक समितिका दिलबहादुर स्याङ्बो र रेनु पुडासैनी, विद्यालयका सल्लाहकार आकाशदीप प्रधान लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै वडाध्यक्ष तितुङले निजी स्कूलहरुले पनि सामाजिक काममा सकारात्मक भूमिका खेलेकोमा धन्यवाद दिनुभयो ।

उहाँले आगामी दिनमा विद्यालयले मानवीय र सामाजिक कामहरुमा ध्यान दिनेछ भन्ने अपेक्षा आफूले राखेको बताउनुभयो ।

युनिभर्सल लर्निङ एकेडेमी पश्चिम मकवानपुरको एक नयाँ शैक्षिक गन्तब्यको रुपमा उदाउँदै गरेको शैक्षिक प्रतिष्ठान हो । यो विद्यालयले एसइइमा पहिलोपटक २०७९ मा सहभागिता जनाएको थियो । १० जना परिक्षार्थी सहभागी भएको एसइइ परिक्षामा ५ जनाले ए ग्रेड, १ जनाले बी प्लस, ३ जनाले बी र एकजनाले सी प्लस ग्रेड प्राप्त गरी सफल भएको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here