माघ १६ देखि मनहरी खोला किनारमा पाँचौ मनहरी महोत्सव

मनहरी–माघ १ गते । कोभिड १९ का कारण रोकिएको मनहरी महोत्सवले यसबर्षदेखि निरन्तरता पाउने भएको छ । मनहरी महोत्सवका पाँचौ संस्करणको तयारी थालिएको र माघ १६ गतेबाट महोत्सव सञ्चालन हुने आयोजक मकवानपुर उद्योग बाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीले जनाएको छ ।

मनहरी ७ स्थित रोटरी मार्केटमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संघका सभापति एबम् महोत्सव मूल आयोजक समितिका संयोजक गणेशमान मानन्धरले माघ १६ देखि सुरु हुने महोत्सव माघ २८ गते समापन हुने जानकारी दिनुभयो ।

महोत्सवको व्यवस्थापनका लागि सभापति मानन्धरणको संयोजकत्वमा मूल समिति गठन भएको छ भने पश्चिम क्षेत्र समितिमा रहेका २३ जना कार्य समिति सदस्य र पदाधिकारीहरु सबैलाई फरक फरक बिषय र क्षेत्रका संयोजक तोकेर २३ वटा समितिहरु निर्माण गरिएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा संघका निवर्तमान सभापति नारायण सुवेदीले पश्चिम मकवानपुरको मौलिक उत्पादनको प्रवद्र्धनमा महोत्सवले ध्यान दिएको बताउनुभयो । चौथो मनहरी महोत्सवमा ‘हामीले लोकल कुखुरा, घट्टमो पिसेको मकै, कोदोको पिठोको व्यापार राम्रो भएको देख्यौँ’, निवर्तमान सभापति सुवेदीको भनाई थियो–‘यस क्षेत्रका मास, गहत, भटमाससहितका कृषि र पशुजन्य उत्पादनको प्रवद्र्धन गर्न हामीले तत्परता देखाएका छौँ ।’

पत्रकार भेटघाट कार्यक्रममा दिइएको जानकारी अनुसार महोत्सवमा १५० वटा स्टल रहनेछन् । यीमध्ये स्थानीय कृषि, पर्यटन, पशुपंक्षी लगायतको प्रवद्र्धनका लागि २० वटा स्टल सम्बन्धित पालिकाको सिफारिसमा निःशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा हात्ती सफारीमार्फत वन्यजन्तुको अवलोकनको व्यवस्था पनि गरिने संघका महासचिव पदमबहादुर तितुङले जानकारी दिनुभयो ।

महोत्सवबारे संघले पत्रकार भेटघाट कार्यक्रम गरी औपचारिक जानकारी गराएको र आगामी दिनमा तयारीका थप विवरणहरु क्रमशः सार्बजनिक गर्दै लगिने प्रचार प्रसार संयोजक राजु राउतले जानकारी दिनुभयो ।

मनहरी महोत्सवको पाँचौ संस्करणमा आइपुग्दा फरक फरक ३ स्थानमा आयोजना भएको छ । २०६७ सालमा पहिलो मनहरी महोत्सव राष्ट्रिय रोटरी माध्यमिक विद्यालयको परिसरमा आयोजना भएको थियो भने त्यस यता मनहरी ८ स्थित बेलुवा बगर र मनहरी ७ स्थित माथिल्लो बजार मनहरी खोला किनारमा हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here