मनाङ मस्र्याङ्दीलाई गोल्डकपको उपाधीः गोलरक्षकलाई बुलेट बाइक

हेटौडा–फागुन १० । शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

बुधबार हेटौंडा–५, पिप्लेस्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई १–० गोलअन्तरले हराउँदै मनाङले उपाधी जितेको हो ।

फाइनलको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मनाङका गोलरक्षक तथा कप्तान दीप कार्कीले बुलेट बाइक प्राप्त गर्नुभएको छ ।

खेलको दोस्रो हाफको ७७ औं मिनेटमा गोल गर्दै मनाङलाई उपाधी दिलाउन रोशन राना मगरले निर्णायक भुमिका निर्वाह गर्नुभएको थियो । खेलको म्यान अफ द म्याच मगर नै घोषित हुनुभएको थियो ।

जितसँगै मनाङले १५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको हिमालयनले १० लाख रुपैयाँ प्राप्त गरेको छ । बुलेट बाइक प्रायोजन गरेको हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले कार्कीलाई बाइकको चाबी हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगिताको उत्कृष्ट डिफेन्स हिमालयन शेर्पाका अमृत श्रेष्ठ, उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका विदेशी खेलाडी युमि, उत्कृष्ट मिडफिल्डर मनाङका कमल थापा र उत्कृष्ट गोलकिपर मनाङका दीप कार्की र उत्कृष्ट प्रशिक्षक मनाङका किरण श्रेष्ठ घोषित भएका छन् । उत्कृष्ट विधाका सबैले नगद २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here